१४ माघ, काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले प्राथमिक निष्काशन(आईपीओ)को रकम नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था हटाएको छ । बजार सुधार गर्ने क्रमलाई अझ अगाडि बढाउँदै आईपीओ आबेदनमा जम्मा भएको पैसा राष्ट्र बैंकमा राख्नु नपर्ने ब्यवस्था बोर्डले गरेको हो ।
धितोपत्र निष्काशन निर्देशिका २०६५ को दफा २२ को उपदफा ४० ले धितोपत्र निष्काशन गर्दा निष्काशन बैंकमा जम्मा भएको रकम धितोपत्र बिक्री बन्द भएको ६ कार्यदिन भित्र नेपाल राष्ट्र बैंकमा खाता खोली कम्तिमा ६ कार्यदिनको लागि जम्मा गर्नुपर्ने ब्यवस्था गरेको र यसरी नेपाल राष्ट्र बैंकमा खाता खोली जम्मा गरिएको रकम बोर्डको अनुमति लिएर मात्र झिक्नुपर्ने भन्ने व्यवस्था रहेको थियो ।
यस्तो व्यवस्थाले गर्दा बजारमा तरलतामा प्रभाव पार्न सक्ने अवस्था रहेको र हाल बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक महिनाको आफ्नो वित्तीय अवस्था बारे नेपाल राष्ट्र बैंकमा विवरण पेश गर्नुपर्ने व्यवस्था बमोजिम गरिरहेको र सार्वजनिक निष्काशनमा बोर्डले आस्बा प्रणाली लागू गरिसकेको परिप्रक्ष्येमा उक्त व्यवस्था कायम राखिराख्न आवश्यक नदेखिएको बोर्डको भनाई छ ।
यसबाट निष्काशनकर्ता संगठित संस्था र निष्काशन तथा विक्री प्रबन्धकहरु झन्झटमुक्त भएको बोर्डको भनाई छ । बेला बेलामा बजारमा देखिने तरलता सम्बन्धी समस्या कम गर्न पनि यसबाट सहयोग पुग्ने विश्वास बोर्डले लिएको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।