
अरुण काबेली पावर लिमिटेडले साधारण सेयर बाँडफाड गरेको छ । कम्पनीले सर्वसाधारणलाई ३० करोड रुपैंयाको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले कम्पनीको कार्यालय ट्रेड टावर थापाथलीमा बाँडफाँट गरेको हो । कम्पनीले सर्वसाधारणका लागि कात्तिक ९ देखि कात्तिक १२ गतेसम्म ३० लाख कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनी निष्काशन गरेको उक्त शेयरमा १ लाख ४० हजार आवेदनबाट ४० गुणा बढी अर्थात १२ अर्ब रुपैंया बराबरको आवेदन परेको थियो ।
कम्पनीले दिएको जानकारी अनुसार ५ हजारदेखि ३५ हजार रुपैयाँसम्मको आवेदन दिनेलाई गोलाप्रथाद्धारा शेयर बाँडफँटमा सहभागि गरिएको छ । गोलाप्रथामा सहभागी हुनेहरुले १३ कित्ता पाएका छन् । त्यस्तै ५० हजारसम्म लगानी गर्ने सबैले आवेदनको २ दशलमव ६७ प्रतिशतका दरले शेयर पाएका छन् । सो भन्दा माथिको आवेदन दिनेले भने १ दशमलव ९७ प्रतिशत शेयर प्राप्त गरेका छन् ।
यो कम्पनी अरुण भ्याली हाइड्रो पावरको भातृसंस्था (सहायक कम्पनी) हो । कम्पनीले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने कोबली नदीमा काबेली बी वान नामक जलविद्युत आयोजना निर्माण गर्दैछ । सो आयोजना २५ मेगावाट क्षमताको रहेको छ ।