काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत झापाकी छात्रा मुस्कान खातुनलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ।
सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त छात्रवृत्ति प्रदान गरेको हो।
स्वर्गीय सीताराम प्रसाईको स्मृतिमा स्थापित ‘सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ मेचीनगर नगरपालिका–१४, झापास्थित सीताराम सामुदायिक अंग्रेजी विद्यालयमा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रदान गरिएको बैंकले जनाएको छ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धकले विद्यालयका प्रधानाध्यापकमार्फत छात्रवृत्ति रकम हस्तान्तरण गरेका थिए। उक्त छात्रवृत्तिको राशि ५० हजार रुपैयाँ रहेको छ।
आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ। यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा निरन्तरता दिन सहयोग पुग्ने बैंकको विश्वास छ।
सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ।