काठमाडौँ । टीभीएस मोटर कम्पनीले नेपालकै पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम काठमाडौँमा सञ्चालनमा ल्याएको छ। शोरुमको उद्घाटनसँगै कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बाढीप्रभावित क्षेत्रका विभिन्न संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ।
नोभेम्बर २० मा आयोजित कार्यक्रममा टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा शोरुम उद्घाटन गरेका हुन्।
शोरुम उद्घाटनको अवसरमा बाइक र्यालीसमेत आयोजना गरिएको थियो। कम्पनीले नुवाकोट र रसुवाका बाढीप्रभावित समुदायलाई सेवा प्रदान गरिरहेका विभिन्न सरकारी तथा सार्वजनिक संस्थालाई मोटरसाइकल हस्तान्तरण गरेको हो।
मोटरसाइकल प्राप्त गर्ने संस्थामा नुवाकोट जिल्ला प्रहरी कार्यालय, नुवाकोट केन्द्रीय कारागार, विदुर नगरपालिका, विदुर जिल्ला अस्पताल, विदुर सरकारी विद्यालय, रसुवा जिल्ला प्रहरी कार्यालय, आमाछोदिङ्मो गाउँपालिका, आमाछोदिङ्मो सरकारी विद्यालय, आमाछोदिङ्मो सरकारी अस्पताल, उत्तरगया गाउँपालिका, उत्तरगया सरकारी विद्यालय र उत्तरगया सरकारी अस्पताल रहेका छन्।
सुगन्धा सिंह र अश्विनले सम्बन्धित संस्थाका प्रतिनिधिलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका थिए। कम्पनीका अनुसार यस सहयोगले बाढीप्रभावित क्षेत्रमा सेवा प्रवाह, पहुँच तथा पुनःस्थापनाका प्रयासलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा कलाकार सौगात तामाङले विशेष रूपमा डिजाइन तथा कस्टमाइज गरेको हेल्मेटसमेत प्रदर्शन गरिएको थियो। नेपाली कला र सिर्जनशीलतालाई टीभीएसको प्रिमियम ब्रान्डसँग जोड्ने उद्देश्यले उक्त हेल्मेट तयार गरिएको कम्पनीले जनाएको छ।
टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमन कार्गरले नेपाल कम्पनीका लागि महत्वपूर्ण बजार रहेको बताउँदै नयाँ शोरुम सञ्चालनले नेपाली बजारमा कम्पनीको उपस्थिति थप सुदृढ हुने उल्लेख गरे। उनले सवारीसाधन बिक्रीसँगै आफूले सेवा गर्ने समुदायमा सकारात्मक योगदान पुर्याउनु पनि कम्पनीको जिम्मेवारी भएको बताए।
त्यस्तै, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले टीभीएससँगको १५ वर्ष लामो साझेदारीले नेपालमा ब्रान्डको उपस्थिति विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। बिक्रीपछिको सेवा, ग्राहक सहभागिता र स्थानीय समुदायसँगको सहकार्यलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै उनले नयाँ शोरुमले ग्राहकलाई थप सहज र स्तरीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे।
नयाँ शोरुममा टीभीएसका प्रिमियम मोटरसाइकल, विद्युतीय स्कुटर तथा सवारीसाधनका विभिन्न सामग्री उपलब्ध हुनेछन्। शोरुममा अपाचे आरटीआर २०० ४भी यूएसडी प्रोजेक्टर, अपाचे आरटीआर १६० ४भी यूएसडी प्रोजेक्टर, टीभीएस रोनिन, टीभीएस रोनिन अगोन्डा, टीभीएस आईक्यूब र टीभीएस अर्बिटर राखिने कम्पनीले जनाएको छ।
यसका अतिरिक्त प्रिमियम मोटरसाइकलका लागि आधिकारिक गियर, एक्सेसरीज तथा कस्टमाइज गरिएका हेल्मेटसमेत शोरुममा उपलब्ध हुनेछन्।
९० भन्दा बढी देशमा उपस्थिति रहेको टीभीएस मोटर कम्पनी विश्वकै प्रमुख दुई तथा तीनपाङ्ग्रे सवारीसाधन निर्माता कम्पनीमध्ये एक हो। नेपालमा जगदम्बा मोटर्समार्फत विगत १५ वर्षदेखि कम्पनीले आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छ।
कम्पनीले नयाँ शोरुम सञ्चालनसँगै नेपाली बजारमा प्रिमियम तथा विद्युतीय सवारीसाधनको बिक्री सञ्जाल विस्तार गर्ने र ग्राहकलाई थप विविध विकल्प उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।