२०८३ मंसिर ८ सोमबार

प्रधानमन्त्री शाहको भारत भ्रमण : यस्तो छ नेपाल-भारत संयुक्त वक्तव्य

ई आर्थिक    सोमबार, मंसिर ८ २०८३
380
Shares
प्रधानमन्त्री शाहको भारत भ्रमण : यस्तो छ नेपाल-भारत संयुक्त वक्तव्य

काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच विकास सहायता, ऊर्जा, पूर्वाधार, व्यापार, पारवहन, हवाई तथा रेल सम्पर्कलगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति भएको छ। भारतले नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले नोभेम्बर २२ देखि २३ सम्म भारतको राजकीय भ्रमण गरेका हुन्। प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि शाहको यो पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा प्रधानमन्त्री शाहसँग उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल पनि सहभागी थियो।

भ्रमणपछि दुवै देशले जारी गरेको संयुक्त प्रेस वक्तव्यअनुसार भारतले नेपाललाई कुल १५ हजार करोड भारतीय रुपैयाँ (२४ हजार करोड नेपाली रुपैयाँ) बराबरको विकास सहायता उपलब्ध गराउने भएको हो। यसमध्ये ३ हजार ५०० करोड भारतीय रुपैयाँ (५ हजार ६०० करोड नेपाली रुपैयाँ) अनुदान सहायता रहनेछ। उक्त रकम विपद्पछिको पुनर्निर्माण तथा नेपालमा नयाँ पूर्वाधार आयोजना निर्माणमा खर्च गरिनेछ।

त्यस्तै, ऊर्जा क्षेत्रका आयोजनाका लागि ११ हजार ५०० करोड भारतीय रुपैयाँ (१८ हजार ४०० करोड नेपाली रुपैयाँ) बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा उपलब्ध गराइनेछ। विकास सहायता उपलब्ध गराउने प्रक्रिया तथा कुन-कुन आयोजना समेट्ने भन्ने विषय आपसी परामर्शबाट टुङ्ग्याइने संयुक्त वक्तव्यमा उल्लेख छ।

हवाई रुट दुईतर्फी बनाउने सहमति
भ्रमणका क्रममा हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बी३४५ काठमाडौँ–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ। हवाई सम्पर्क विस्तार तथा द्विपक्षीय आर्थिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले दुवै देश यस विषयमा सहमत भएका हुन्।

उक्त रुटलाई दुईतर्फी सञ्चालनमा ल्याउने मोडालिटी तय गर्न तथा छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावलाई टुङ्गोमा पुर्‍याउन प्राविधिक परामर्श गरिने वक्तव्यमा उल्लेख छ।
भारतीय बन्दरगाहमार्फत नेपालको पारवहन सुविधा विस्तार
भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह (कान्डला) हुँदै नयाँ सम्पर्क सुविधा उपलब्ध गराउने भएको छ। त्यस्तै, आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहको पहुँचसमेत नेपाललाई उपलब्ध गराइने भएको छ।

दुवै देशका प्रधानमन्त्रीले सीमापार सम्पर्क तथा सीमा पूर्वाधार सुधारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। यसका लागि नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आईसीपी) तथा पेट्रोलियम पाइपलाइन निर्माणलाई अघि बढाउने सहमति भएको छ।
रक्सौल–काठमाडौँ रेलमार्गको सर्वेक्षण सम्पन्न
नेपाल र भारतबीच प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे अन्तिम भएको घोषणा गरिएको छ।
त्यस्तै, नेपालमा पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि दुवै देशले सहकार्य गर्ने भएका छन्।

भ्रमणका क्रममा भारतको अयोध्या र नेपालको जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटनसमेत गरिएको छ। उक्त रेल सेवाले दुई देशबीचको सम्पर्क विस्तार गर्नुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

दुवै देशले बौद्ध तथा शिवशक्ति धार्मिक पर्यटन सर्किट विकासका लागि पनि यस्तै सम्पर्क सेवा विस्तार गर्ने सम्भावना खोज्ने सहमति गरेका छन्।
तीन स्थानमा एकीकृत जाँच चौकी निर्माण अघि बढ्ने
भारत र नेपालबीच सीमापार आवागमन तथा व्यापारलाई सहज बनाउन थप एकीकृत जाँच चौकी निर्माणको काम अघि बढ्ने भएको छ।
दुवै देशका प्रधानमन्त्रीले भारतको बनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माणका लागि भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन्।

त्यसैगरी, भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको प्रगतिप्रति दुवै पक्षले स्वागत गरेका छन्। हाल नेपाल–भारतबीच तीनवटा एकीकृत जाँच चौकी सञ्चालनमा रहेको वक्तव्यमा उल्लेख छ।

यसैगरी, भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण गरिएको नयाँ सीमापार मोटरेबल पुलको उद्घाटन गरिएको छ। यसले पश्चिम नेपाल र भारतबीचको प्रत्यक्ष सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सीमास्तम्भको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति पनि दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्। बाँकी सीमा समस्याका विषयमा काम अघि बढाउन दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको छ।

पेट्रोलियम पाइपलाइन विस्तार र झापामा टर्मिनल निर्माण
नेपाल–भारतबीच पेट्रोलियम पूर्वाधार विस्तार गर्ने सहमतिअनुसार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको आयोजना नेपाली जनतालाई समर्पण गरिएको छ।
त्यस्तै, नेपालमा झापास्थित पेट्रोलियम टर्मिनल निर्माणका लागि दुवै प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन्।

भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन निर्माणको काम छिट्टै सुरु गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका छन्। नेपाल र भारतबीच ग्यास पाइपलाइन निर्माणमा समेत सहकार्य गर्ने सम्भावना खोज्ने सहमति भएको छ।

६६९ मेगावाटको तल्लो अरुण आयोजना अघि बढाइने
ऊर्जा तथा जलविद्युत् क्षेत्रमा भएको सहमतिअनुसार भारतीय कम्पनीको सहभागितामा नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अघि बढाइने भएको छ।
भारत–नेपाल विद्युत् क्षेत्र सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोणपत्र तथा दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुसार जलविद्युत् क्षेत्रमा भएको प्रगतिप्रति दुवै देशले सन्तुष्टि व्यक्त गरेका छन्।

यसैक्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको दुवै प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन्।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिन पञ्चेश्वर विकास प्राधिकरण तथा संयुक्त जलस्रोत समितिलाई निर्देशन दिइएको छ। उक्त आयोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाउन पनि दुवै पक्ष सहमत भएका छन्।

त्यस्तै, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर तयार गर्ने काम तीव्र बनाउनुपर्नेमा दुवै प्रधानमन्त्रीले जोड दिएका छन्। यी आयोजनामार्फत जलस्रोतको पारस्परिक उपयोग तथा बाढीको प्रभाव न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।

नेपालको इनरुवा–भारतको नयाँ पूर्णिया तथा नेपालको दोधारा–भारतको बरेलीबीच निर्माण हुने दुई उच्च क्षमताका सीमापार विद्युत् प्रसारण लाइनका लागि संयुक्त कम्पनी (जेभी) गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति पनि दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्।

नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को शाखा स्थापना हुने
भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने भएको छ।

नेपालको शिक्षा क्षेत्रमा क्षमता अभिवृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त क्याम्पस स्थापना गर्न दुवै देश सहमत भएका हुन्।
त्यस्तै, प्रविधि, स्टार्टअप, डिजिटल सेवा तथा वित्तीय सम्पर्कका क्षेत्रमा नेपाल र भारतबीच सहकार्य विस्तार भइरहेको विषयलाई दुवै पक्षले स्वागत गरेका छन्।
एक देशमा बसोबास गर्ने अर्को देशका नागरिकलाई बैंकिङ तथा दूरसञ्चारलगायत सेवा सहज रूपमा उपलब्ध गराउन आपसी सहजीकरण आवश्यक रहेको विषयमा पनि दुवै पक्षले जोड दिएका छन्।
नेपालमा कृषि औद्योगिक पार्क स्थापना गरिने
नेपालमा भारत सरकारको अनुदान सहयोगमा चितवनमा कृषि औद्योगिक पार्क स्थापना गर्ने घोषणा दुवै देशका प्रधानमन्त्रीले स्वागत गरेका छन्।
यसका साथै भारत सरकारको सहयोगमा नेपालमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रतिष्ठानको प्रगतिबारे पनि दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्।
उच्च प्रभाव सामुदायिक विकास आयोजना (एचआईसीडीपी) लगायत नेपालमा सञ्चालन भइरहेका विकास आयोजनाको कार्यान्वयनमा भएको प्रगतिलाई पनि संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ।
आठवटा समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठवटा समझदारीपत्र (एमओयू) आदानप्रदान भएका छन्।
समझदारीपत्रहरूमा समेटिएका विषय यसप्रकार छन् :
१. भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारी।
२. भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच सहकार्यसम्बन्धी समझदारी।
३. भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रमसम्बन्धी समझदारी।
४. आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्न नेपाल र भारत सरकारबीच समझदारी।
५. भारतको अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया भूउपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने सम्बन्धी समझदारी।
६. दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्यसम्बन्धी नेपाल र भारत सरकारबीच समझदारी।
७. स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा सहकार्य गर्न भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारी।
८. पशुपालन तथा मत्स्य विकासको क्षेत्रमा सहकार्यसम्बन्धी नेपाल र भारत सरकारबीच समझदारी।
मोदीलाई नेपाल भ्रमणको निम्तो
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत तथा आतिथ्यका लागि धन्यवाद दिएका छन्। उनले मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिएका छन्।

मोदीले उक्त निम्तो स्वीकार गरेका छन्। उनको नेपाल भ्रमणको मिति भने कूटनीतिक माध्यमबाट तय गरिने संयुक्त वक्तव्यमा उल्लेख छ।
यसअघि प्रधानमन्त्री शाहलाई भारतको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो। उनले राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए भने भारतका विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गरेका थिए।

भारतीय प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोज आयोजना गरेका थिए। दुई प्रधानमन्त्रीबीच भएको छलफलमा द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्र, क्षेत्रीय चासोका विषय तथा विश्वव्यापी घटनाक्रमबारे कुराकानी भएको थियो।

छलफलका क्रममा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका थिए। उक्त बाढीका कारण नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो।

प्रधानमन्त्री मोदीले नेपालको विकास यात्रामा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दृष्टिकोणपत्रसमेत अवलम्बन गरेका छन्। उक्त दस्तावेजले नेपाल र भारतबीच भविष्यमा विस्तार गरिने साझेदारीको मार्गचित्र प्रस्तुत गरेको छ।

यसमा आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जलस्रोत र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषय समेटिएका छन्। साथै जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्य विस्तार गर्ने विषय पनि समावेश छन्।

संयुक्त वक्तव्यमा नेपाल र भारतबीचको सम्बन्ध गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र समझदारीमा आधारित रहेको उल्लेख गरिएको छ। जनस्तरको बलियो सम्बन्ध तथा आर्थिक र विकास साझेदारीले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाएको दुवै पक्षको निष्कर्ष छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय भ्रमणको परम्परालाई निरन्तरता दिएको तथा द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने प्रतिबद्धता पुनः पुष्टि गरेको संयुक्त वक्तव्यमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij