२०८३ मंसिर ८ सोमबार

प्रचण्डलाई स्वागत गर्न विमानस्थल पुगेका उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत पक्राउ

ई आर्थिक    शनिबार, मंसिर ६ २०८३
570
Shares
प्रचण्डलाई स्वागत गर्न विमानस्थल पुगेका उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत पक्राउ

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका एक वरिष्ठ अधिकृत पक्राउ परेका छन् ।

रुसको मस्कोमा आयोजित विश्व सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका प्रचण्डलाई विमानस्थलको भीआईपी कक्षमा स्वागत गर्न पुगेका प्राधिकरणका वरिष्ठ अधिकृत सुवास कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चितवन घर भई हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका ४५ वर्षीय इलेक्ट्रिक इन्जिनियर कोइरालालाई गृहमन्त्री सुधन गुरुङको ठाडो आदेशमा पक्राउ गरिएको बताइएको छ ।

संयोगवश सोही दिन संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी भएर गृहमन्त्री गुरुङ पनि सोही विमानबाट काठमाडौं फर्किएका थिए । विमानस्थलमा प्रचण्डलाई स्वागत गर्न नेकपाका नेताहरू अग्नि सापकोटा, पम्फा भुसाल र देव गुरुङसँगै सरकारी कर्मचारी कोइराला पनि लाइनमा बसेको देखेपछि गृहमन्त्री गुरुङ आक्रोशित बनेको स्रोतको भनाइ छ ।

सरकारी कर्मचारी राजनीतिक दलका नेताको स्वागतमा सार्वजनिक रूपमा लाइनबद्ध भएको भन्दै गृहमन्त्रीले तत्काल कोइरालालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएका थिए । त्यसपछि सुरक्षाकर्मीले उनलाई पक्राउ गरी प्रहरी वृत्त गौशाला पुर्‍याएका थिए ।

प्रहरी वृत्त गौशालाको अपराध अनुसन्धान शाखामा दिनभर सोधपुछ गरिएपछि कोइरालालाई बिहीबार साँझ रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले पुष्टि गरेका छन् ।

सरकारी कर्मचारीले पदीय मर्यादाविपरीत राजनीतिक नेतृत्वको स्वागतमा सहभागी भएको भन्दै गृहमन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशकसँग समेत असन्तुष्ट बनेका थिए ।

गृहमन्त्री गुरुङ नोभेम्बर १६ देखि १८ सम्म यूएईमा आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij