२०८३ असोज २५ आइतबार

तनहुँ जलविद्युत् आयोजनाद्वारा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नमुना अभ्यास

ई आर्थिक    आइतबार, असोज २५ २०८३
190
Shares
तनहुँ जलविद्युत् आयोजनाद्वारा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नमुना अभ्यास

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य बाँध निर्माणस्थलमा विपद् नमुना अभ्यास सम्पत्र गरेको छ ।

आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्कालीन प्रतिकार्य उपयोजनाबमोजिम सञ्चालन गरिएको अभ्यासमा प्याकेज—१ (हेडवक्र्स) र प्याकेज—२ (मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना तथा सम्बन्धित उपकरणहरु)मा कार्यरत जनशक्तिलाई लक्षित गरिएको थियो ।

अभ्यासमा क्रममा सम्भावित विपद्का बेला अपनाउनुपर्ने सुरक्षा सावधानी, तत्काल उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा आपत्कालीन अवस्थामा प्रभावकारी समन्वय गर्ने विधिबारे व्यवहारिक अभ्यास गरिएको थियो ।

नमुना अभ्यासमा तनहुँ हाइड्रोपावर लिमिटेड (टिएचएल) का प्रबन्ध–सञ्चालक, आयोजना प्रबन्धक तथा अन्य पदाधिकारी, नेपाली सेनाको दमौलीस्थित कालिभञ्जन गणका अधिकारी, आयोजना सुपरीवेक्षण परामर्शदाता (पीएससी), वातावरण तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक र निर्माण व्यवसायीका प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रममा टिएचएलका प्रबन्ध–सञ्चालक छविलाल गैह्रेले विपद् व्यस्थापनमा पूर्वतयारी, समयमै सूचना प्रवाह र प्रभावकारी उद्धार प्रणालीको महत्वमा जोड दिँदै आयोजनाले निर्माणस्थलमा कार्यरत जनशक्तिको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।  उहाँले यस्ता अभ्यास विपद्का बेला तत्काल निर्णय लिन, सम्बन्धित निकायबीच समन्वय गर्न तथा मानवीय क्षति न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो ।

उहाँले आयोजनाको प्रतिबद्धता निर्माणस्थलमा कार्यरत जनशक्तिको सुरक्षामा मात्र सीमित नरहेको उल्लेख गर्दै बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई सम्भावित बाढी तथा अन्य जोखिमबारे सचेत गराउन र आपत्कालीन अवस्थामा सुरक्षित रहन विभित्र कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्नुभयो ।

आयोजनाले बाँधस्थलदेखि तल्लो तटीय क्षेत्र हुँदै सेती र त्रिशूली नदीको दोभानसम्म सम्भावित जोखिमबारे समयमै सूचना प्रवाह गर्न १७ वटा साइरन जडान गरेको छ । त्यसैगरी, नदीमा बाढी आएमा सुरक्षित स्थानमा जान तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिन १० स्थानमा सूचनामूलक होर्डिङ बोर्ड राखिएको छ ।

आयोजनाले विपद् जोखिम न्यूनिकरणलाई निर्माण व्यवस्थापनको अभिन्न अंगका रूपमा अघि बढाउँदै आएको छ । नियमित नमुना अभ्यास, आपत्कालीन प्रतिकार्यको तयारी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र तल्लो तटीय क्षेत्रका समुदायमा जनचेतना अभिवृद्धिमार्फत निर्माणस्थलमा कार्यरत जनशक्ति तथा स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चित गर्न आयोजना प्रतिबद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij