सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ।
अख्तियारको टोलीले मंगलबार साँझ नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवलाई सेवाग्राहीसँग रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
स्रोतका अनुसार यादवले नक्सा पास गराइदिने भन्दै सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि अख्तियारको टोली मलंगवा नगरपालिका पुगेको थियो।
टोलीले यादवको साथबाट १ लाख रुपैयाँ बरामद गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनासँग सम्बन्धित कागजात तथा अन्य प्रमाण संकलन गरी थप अनुसन्धान भइरहेको अख्तियारको टोलीले जनाएको छ।
समाचार तयार पार्दासम्म अख्तियारको टोली मलंगवा नगरपालिकामै रहेर आवश्यक कागजात अध्ययन तथा घटनासम्बन्धी तथ्य संकलनमा जुटेको थियो।