२०८३ भाद्र २४ बुधबार

भोटेकोशी बाढी प्रभावित विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति योजना

ई आर्थिक    मंगलबार, भाद्र २३ २०८३
513
Shares
भोटेकोशी बाढी प्रभावित विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति योजना

प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका करिब एक हजार विद्यार्थी लाभान्वित हुने

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन सरकारले करिब एक अर्ब रुपियाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा छात्रवृत्ति योजना सार्वजनिक गर्नुभएको हो।

बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले ल्याइएको योजनामा सङ्घीय सरकारका विभिन्न निकाय, प्रदेश तथा स्थानीय सरकार, निजी विद्यालय सञ्चालकका छाता सङ्गठन तथा सरकारी–गैरसरकारी सङ्घसंस्थाबीच सहकार्य गरिने मन्त्रालयले जनाएको छ।

एक हजार विद्यार्थीलाई छात्रवृत्ति

योजनाअन्तर्गत प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म अध्ययनरत करिब एक हजार विद्यार्थी लाभान्वित हुनेछन्।

विद्यार्थीको आवश्यकता र अवस्थाका आधारमा पूर्ण, आंशिक तथा आवासीय छात्रवृत्ति उपलब्ध गराइनेछ। छात्रवृत्तिसँगै पाठ्यपुस्तक, विद्यालय पोसाक, शैक्षिक सामग्री, आवास तथा खानालगायतका सुविधा पनि उपलब्ध गराउने योजना रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रभावित विद्यार्थीको पहिचान स्थलगत सर्वेक्षणका साथै सम्बन्धित विद्यालय, वडा कार्यालय र स्थानीय तहको सिफारिसका आधारमा गरिनेछ।

निजी क्षेत्रको सहकार्यमा कार्यक्रम

कार्यक्रममा शिक्षामन्त्री पोखरेलले विपत्का समयमा निजी तथा संस्थागत विद्यालयले देखाएको सामाजिक उत्तरदायित्वको प्रशंसा गर्नुभयो।

देश तथा विदेशबाट प्राप्त सहयोगले विपत्का समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गरेको उहाँको भनाइ थियो। शिक्षाक्षेत्रले संस्थागत जिम्मेवारीभन्दा माथि उठेर विपत्का समयमा गरेको सहयोगले भविष्यमा आउन सक्ने विपत् तथा दुर्घटनाको दीर्घकालीन व्यवस्थापन र पूर्वतयारीमा समेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

मन्त्रालयको सिफारिसका आधारमा निजी विद्यालय तथा अन्य सहयोगी संस्थाले प्रभावित बालबालिकालाई छात्रवृत्ति तथा आवश्यक भौतिक र शैक्षिक सहयोग उपलब्ध गराउने प्रस्ताव गरिएको छ।

हिसानका अध्यक्ष युवराज शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाको सहयोग लिएर कार्यक्रमलाई दीर्घकालीन रूपमा अघि बढाइने बताउनुभयो।

त्यस्तै, प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी विद्यालय सञ्चालकका पाँच वटा छाता सङ्गठनको सहकार्यमा छात्रवृत्ति कार्यक्रम ल्याइएको जानकारी दिनुभयो।

पाँच जिल्लाका १५ स्थानीय तह प्रभावित

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तह प्रभावित भएका थिए।

सरकारले बाढीबाट प्रभावित ती स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। बाढीका कारण प्रभावित विद्यार्थीको पढाइमा परेको असरलाई सम्बोधन गर्दै सरकारले उनीहरूको शिक्षा निरन्तरताका लागि छात्रवृत्ति योजना अघि सारेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij