२०८३ मंसिर १२ शुक्रबार

ट्रम्पद्वारा १४ देश तथा क्षेत्रमाथि नयाँ भन्सार शुल्क प्रस्ताव, चीनमा ४० प्रतिशतसम्म कर

ई आर्थिक    बिहिबार, मंसिर ११ २०८३
418
Shares
ट्रम्पद्वारा १४ देश तथा क्षेत्रमाथि नयाँ भन्सार शुल्क प्रस्ताव, चीनमा ४० प्रतिशतसम्म कर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तरता दिँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने प्रस्ताव अघि सारेका छन्।

प्रस्तावित शुल्कअनुसार चीनबाट आयात हुने वस्तुमा ४० प्रतिशतसम्म, भियतनाममा ३५ प्रतिशतसम्म तथा अन्य देशमा २० देखि २५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने तयारी गरिएको छ। नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ।

अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा गरेको ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चमा विभिन्न देशका व्यापारिक अभ्यासबारे अनुसन्धान सुरु गरेको थियो। उक्त अनुसन्धानपछि नयाँ शुल्क प्रस्ताव अघि सारिएको हो।

बीबीसीका अनुसार प्रस्तावित नयाँ शुल्क चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारतमा लागू हुनेछन्।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले नयाँ भन्सार शुल्कले अमेरिकी श्रमिकका लागि समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने तथा विश्व अर्थतन्त्रलाई थप दिगो दिशामा अघि बढाउन सहयोग पुग्ने दाबी गरेका छन्।

उनका अनुसार अमेरिकाका व्यापारिक साझेदारहरूले दशकौँदेखि उत्पादन, ज्याला तथा श्रम व्यवस्थापनलाई लक्षित गरी अपनाएका औद्योगिक रणनीति र बजार प्रभावित पार्ने अभ्यासका कारण अमेरिकी उत्पादन आधार कमजोर भएको तथा व्यापार सन्तुलन अन्य देशको पक्षमा गएको छ।

भन्सार शुल्क विदेशबाट आयात हुने वस्तुमा लगाइने कर हो। सामान्यतया आयातित वस्तुको मूल्यको निश्चित प्रतिशतका आधारमा शुल्क निर्धारण गरिन्छ। यस्तो कर आयात गर्ने व्यवसायीले सरकारलाई बुझाउने भए पनि त्यसको भार अन्ततः उपभोक्तासम्म पुग्न सक्ने अर्थशास्त्रीहरूको विश्लेषण छ।

ट्रम्पले विभिन्न देशसँग यसअघि नै शुल्कसम्बन्धी सहमति गरेका कारण प्रस्तावित शुल्कका केही दर व्यवहारमा कम हुन सक्ने बताइएको छ। देशअनुसार शुल्कको दरसमेत फरक हुनेछ।

अर्थशास्त्रीहरूले भने भन्सार शुल्कका कारण आयात लागत बढ्ने, मुद्रास्फीतिमा दबाब पर्ने तथा व्यवसायीले बढेको लागत उपभोक्तामाथि सार्दा वस्तु तथा सेवाको मूल्य महँगिन सक्ने चेतावनी दिएका छन्। यसले विश्वव्यापारमा समेत संकुचन ल्याउने जोखिम रहेको उनीहरूको भनाइ छ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिकी उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई मुख्य उद्देश्य बनाउँदै पटक–पटक भन्सार शुल्क लगाउने तथा थप शुल्क लगाउने चेतावनी दिँदै आएका छन्।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कमजोर नतिजा हासिल गरे पनि ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तरता दिएका छन्। अमेरिकाले अन्य देशबाट आयात गर्ने वस्तुको मूल्य र निर्यात गर्ने वस्तुको मूल्यबीचको अन्तर अर्थात् व्यापार घाटा घटाउने लक्ष्यसमेत ट्रम्पले अघि सारेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij