सियोल । दक्षिण कोरियाको एसके ग्रुपका अध्यक्ष चेइ ताए-वोनले सम्बन्ध विच्छेदपछि सम्पत्ति बाँडफाँटसम्बन्धी लामो समयदेखि चलिरहेको कानुनी विवाद अन्त्य गर्न पूर्वपत्नीलाई ९४४ अर्ब वन (करिब ७० करोड १० लाख अमेरिकी डलर) तिर्न प्रस्ताव गरेका छन्।
चेइले सोमबार सर्वोच्च अदालतसमक्ष विवाद समाधानका लागि सहमतिको प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन्। उनले पूर्वपत्नी तथा आर्ट सेन्टर नाबीकी निर्देशक रो सो-योङलाई तल्लो अदालतले निर्धारण गरेको सम्पूर्ण रकम भुक्तानी गर्न आफू तयार रहेको बताएका छन्।
चेइका प्रतिनिधिहरूका अनुसार वर्षौंदेखि चलिरहेको कानुनी विवाद अन्त्य गर्ने उद्देश्यले यस्तो प्रस्ताव गरिएको हो। यद्यपि, प्रस्तावसँगै मुद्दा स्वतः टुंगिएको भने छैन।
सर्वोच्च अदालतले सहमतिको प्रस्ताव अघि सारेमा दुवै पक्षले निर्णय प्राप्त गरेको दुई साताभित्र आपत्ति जनाउन सक्नेछन्। कुनै पनि पक्षले आपत्ति नजनाएमा उक्त सहमतिले अन्तिम फैसलासरह कानुनी मान्यता पाउनेछ।
सन् २०१७ देखि चलिरहेको सम्पत्ति विवाद
चेइ र रोबीचको सम्बन्ध विच्छेद तथा सम्पत्ति बाँडफाँटको विवाद सन् २०१७ मा सुरु भएको थियो। सन् १९८८ मा विवाह गरेका चेइले त्यस वर्ष रोसँग सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएका थिए।
सुरुमा तल्लो अदालतले एसके ग्रुपमा रहेको चेइको सेयरलाई उनको व्यक्तिगत सम्पत्ति मानेको थियो। सोही आधारमा सम्पत्ति बाँडफाँट गर्दा रोले ६६ अर्ब ५० करोड वन पाउने फैसला भएको थियो।
तर, सन् २०२४ मेमा पुनरावेदन अदालतले चेइको एसके ग्रुपमा रहेको सेयरलाई पनि वैवाहिक सम्पत्तिका रूपमा गणना गर्नुपर्ने फैसला गर्यो। त्यसपछि रोले पाउने रकम बढाएर १.३८ ट्रिलियन वन पुर्याइएको थियो।
यस फैसलाविरुद्ध चेइ सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतले सन् २०२५ अक्टोबरमा मुद्दा पुनः सुनुवाइका लागि पुनरावेदन अदालतमा फिर्ता पठाएको थियो।
सर्वोच्च अदालतले रोका पिता तथा दक्षिण कोरियाका पूर्वराष्ट्रपति रो ताए-वूले उपलब्ध गराएको भनिएको अवैध रकमलाई एसके ग्रुपको विकासमा रोको योगदानका रूपमा गणना गर्न नमिल्ने ठहर गरेको थियो। यद्यपि, छुट्टै क्षतिपूर्तिबापत रोले पाउने दुई अर्ब वनको फैसला भने यथावत् राखिएको थियो।
त्यसपछि सियोल उच्च अदालतले सन् २०२६ जुलाईमा पुनः फैसला गर्दै चेइको एसके ग्रुपको सेयरलाई वैवाहिक सम्पत्ति बाँडफाँटमा समावेश गर्नुपर्ने ठहर गर्यो। तर, रोले पाउने रकम घटाएर ९४४ अर्ब वन कायम गरिएको थियो।
चेइले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। पछि उनले आफ्नो चुनौतीलाई २४४ अर्ब वनमा सीमित गरेका थिए। रोले भने फैसलाविरुद्ध छुट्टै पुनरावेदन गरेकी थिइनन्।
सेयर बिक्रीपछि घट्यो चेइको स्वामित्व
पूर्वपत्नीलाई सम्पूर्ण रकम भुक्तानी गर्ने प्रस्तावसँगै एसके ग्रुपको मुख्य कम्पनी एसके इंकमा चेइको सेयर स्वामित्व थप घट्न सक्ने विषय पनि चर्चामा आएको छ।
यसै महिनाको सुरुमा चेइले भुक्तानीका लागि रकम जुटाउन एसके इंकका १६ लाख ५० हजार कित्ता सेयर बिक्री गरेका थिए। उक्त बिक्रीपछि कम्पनीमा उनको सेयर स्वामित्व १७.७६ प्रतिशतबाट घटेर १५.४९ प्रतिशतमा झरेको छ।
यद्यपि, उनी अझै कम्पनीका सबैभन्दा ठूला सेयरधनी छन्।
एसके ग्रुपले भने सेयर बिक्रीपछि पनि कम्पनीमाथि चेइको नियन्त्रण कमजोर नहुने दाबी गरेको छ। उनको मताधिकार र सम्बन्धित पक्षहरूको सेयर हिस्सालाई आधार बनाउँदै कम्पनीले व्यवस्थापकीय नियन्त्रण कायम रहने जनाएको हो।
एसके ग्रुपका एक अधिकारीका अनुसार सेयर बिक्रीपछि पनि चेइसँग मताधिकार भएको २०.८ प्रतिशत सेयर रहेको छ। सम्बन्धित पक्षहरूको सेयरसमेत जोड्दा यो हिस्सा ३०.५ प्रतिशत पुग्छ।
कम्पनीको स्थिर व्यवस्थापन कायम राख्ने क्षमता यथावत् रहेको ती अधिकारीले बताएका छन्।
चेइको प्रस्ताव सर्वोच्च अदालतबाट अघि बढाइएपछि दुवै पक्षले स्वीकार गरेमा सन् २०१७ देखि चल्दै आएको दक्षिण कोरियाको चर्चित सम्बन्ध विच्छेद तथा सम्पत्ति बाँडफाँटसम्बन्धी कानुनी विवाद अन्त्य हुन सक्नेछ।