आयात–निर्यात दुवै बढे, चार महिनामै व्यापार घाटा पौने ७ खर्ब नजिक
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य विस्तार भए पनि व्यापार घाटाको आकार भने थप बढेको छ। यस अवधिमा आयात र निर्यात दुवै बढेका छन्। तर आयातको तुलनामा निर्यात निकै कम रहेकाले व्यापार घाटा ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्म ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँको वस्तु आयात भएको थियो। यसरी एक वर्षको अवधिमा आयात ३१.७७ प्रतिशतले बढेको हो।
आयातसँगै निर्यात व्यापारमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा नेपालबाट १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ बराबरका वस्तु विदेश निर्यात भएका छन्। अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा यस्तो निर्यात ९३ अर्ब ४९ करोड रुपैयाँमा सीमित थियो। यसअनुसार निर्यात व्यापार ४३.४८ प्रतिशतले बढेको छ।
निर्यातको वृद्धिदर आयातको भन्दा बढी भए पनि आयातको ठूलो आकारका कारण व्यापार असन्तुलन कायमै रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ रहेको व्यापार घाटा यस वर्ष २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो।
कुल वैदेशिक व्यापार ९ खर्बभन्दा माथि
आयात र निर्यात दुवैमा भएको वृद्धिसँगै नेपालको कुल वैदेशिक व्यापार पनि विस्तार भएको छ। चार महिनामा कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेर ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो। एक वर्षमै कुल व्यापारमा २ खर्ब ३४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको विस्तार भएको देखिन्छ।
कुल वैदेशिक व्यापारमा निर्यातको योगदानसमेत केही बढेको छ। अघिल्लो वर्ष कुल व्यापारमा १३.३० प्रतिशत रहेको निर्यातको हिस्सा चालु आर्थिक वर्षको समीक्षा अवधिमा १४.३१ प्रतिशत पुगेको छ।
त्यसैगरी, कुल वैदेशिक व्यापारमा आयातको हिस्सा भने अघिल्लो वर्षको ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा झरेको छ।
तथ्यांकले नेपालको निर्यात व्यापारमा सकारात्मक वृद्धि देखिए पनि आयातमाथिको उच्च निर्भरता र बढ्दो व्यापार घाटा प्रमुख चुनौतीका रूपमा कायम रहेको देखाएको छ।