काठमाडौं । नेपालले तेस्रो मुलुकसँगको आयातनिर्यात व्यापारका लागि भारतका थप दुई ठूला समुद्री बन्दरगाह प्रयोग गर्न पाउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओडिसास्थित पारादीप र गुजरातस्थित काण्डला बन्दरगाह प्रयोगको पहुँच उपलब्ध गराउने घोषणा गरेका हुन्।
नयाँ बन्दरगाह प्रयोगको अनुमति पाएसँगै नेपालले पहिलो पटक भारतको पश्चिमी तट हुँदै अरब सागरसम्म प्रत्यक्ष समुद्री पहुँच प्राप्त गरेको छ। यसले नेपालको पारवहन व्यापारलाई थप सहज बनाउनुका साथै आयातनिर्यात लागत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नयाँ दुई बन्दरगाह प्रयोग गर्न पाउने भएपछि तेस्रो मुलुकसँगको व्यापारमा थप विकल्प उपलब्ध हुनेछ।
यसअघि नेपालले तेस्रो मुलुकसँगको आयातनिर्यातका लागि भारतको पूर्वी तटमा रहेका पश्चिम बङ्गालका कोलकाता र हल्दिया तथा आन्ध्र प्रदेशको विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको थियो।
अब पारादीप र काण्डला बन्दरगाहसमेत प्रयोग गर्न पाउने भएपछि नेपालको समुद्री पारवहन सञ्जाल विस्तार हुनेछ। यी दुवै बन्दरगाह भारतका प्रमुख चार मेगा पोर्टमध्ये पर्ने बताइएको छ।
व्यापारविज्ञ रविशङ्कर सैजुका अनुसार भारतका दुई ठूला बन्दरगाहको पहुँच प्राप्त हुँदा नेपालको आयातनिर्यात व्यापारमा सहजता आउने र लजिस्टिक लागतसमेत घट्नेछ।
“अब जुनसुकै देशबाट आएको सामान सिधै ती बन्दरगाहमा झारेर नेपाल ल्याउन सकिने छ,” उहाँले भन्नुभयो, “कोलकाता र विशाखापट्टनम बन्दरगाहसम्म सामान बीचमा झारेर ल्याउनुपर्ने अवस्था थियो तर अब सिधै ल्याउन पाइने छ।”
नयाँ बन्दरगाहलाई प्रभावकारी रूपमा प्रयोग गर्न सके नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सहजीकरण हुने उहाँको भनाइ छ।
भारत सरकारको स्वामित्वमा रहेका पारादीप र काण्डला बन्दरगाह प्रयोगको अनुमति पाएसँगै भन्सार प्रक्रिया, पारवहन व्यवस्थापन तथा भारतीय रेल सञ्जालसँगको समन्वयमा पनि सहजता आउने अपेक्षा गरिएको छ।
यसका लागि दुवै देशका सरकारी निकायबीच आवश्यक समन्वय र कार्यसम्पादन प्रभावकारी बनाउनुपर्ने व्यापारविज्ञ सैजुले बताउनुभयो।
नयाँ बन्दरगाहको प्रयोगले नेपालको तेस्रो मुलुकसँगको व्यापारलाई विविधीकरण गर्ने, ढुवानीका विकल्प बढाउने र पारवहनमा विद्यमान निर्भरता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।