नवलपुर । चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट–बुटवल सडकलाई थप आकर्षक र व्यवस्थित बनाउन सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न थालिएको छ। करिब ११३ किलोमिटर लामो सडकको बीचमा रहेको तीन मिटर चौडा डिभाइडरमा दुबो रोप्ने काम तीव्र गतिमा भइरहेको छ।
नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार गैँडाकोट, देवचुली, कावासोतीलगायत विभिन्न स्थानका डिभाइडरमा दुबो रोप्ने काम भइरहेको छ।
सडकको मुख्य कालोपत्र गर्ने काम लगभग सकिएको छ। अहिले सडक किनारका सर्भिस लेन निर्माण, डिभाइडरमा रङरोगन, बीचको भागमा दुबो रोप्ने तथा सडकको सौन्दर्य बढाउने बिरुवा लगाउने काम भइरहेको खनालले जानकारी दिए।
विसं २०१८ मा तत्कालीन राजा महेन्द्र शाहले नवलपुरको गैँडाकोटमा शिलान्यास गरी निर्माण सुरु गरेको पूर्वपश्चिम राजमार्ग करिब ६५ वर्षपछि नारायणघाट–बुटवल खण्डमा चार लेनमा विस्तार भएको हो।
नारायणघाट–बुटवल सडक विस्तारका लागि २०७५ माघमा सम्झौता भएको थियो। सोही वर्षको चैतमा शिलान्यास भएपछि निर्माण कार्य सुरु गरिएको थियो। सम्झौताअनुसार ४२ महिनाभित्र सम्पन्न गर्नुपर्ने आयोजना विभिन्न समयमा चार पटक म्याद थप हुँदा करिब आठ वर्षपछि गत साउनमा पूरा भएको सूचना अधिकारी खनालले बताए।
उनका अनुसार सडकको मुख्य निर्माण कार्य सकिएपछि गत साउनमै आयोजनाले सडक टेकओभर गरिसकेको छ। तर, औपचारिक हस्तान्तरण भने हुन बाँकी छ।
खनालले भने, “सडकको लगभग काम सकिएपछि हामीले साउनमा टेकओभर गरिसकेका छौँ। सडक टेकओभर मात्र भएको हो, हस्तान्तरण भने भएको छैन। टेकओभरपछि पाँच वर्षसम्म निर्माण कम्पनीले देखिएका त्रुटि सच्याउनुपर्ने व्यवस्था छ।”
सडक निर्माणका क्रममा देखिन सक्ने प्राविधिक त्रुटि सच्याउन पाँच वर्षको परीक्षण अवधि राखिएको छ। यस अवधिमा निर्माण कम्पनीले सडकमा देखिएका समस्या मर्मत तथा सुधार गर्नुपर्नेछ।
अहिले सडकको कालोपत्र र ढलानको मुख्य काम सकिएपछि त्रुटि सच्याउने, पैदलयात्रीका लागि पेटी निर्माण गर्ने, सडक किनारमा रेलिङ राख्ने तथा आवश्यक स्थानमा ढलान गर्ने काम भइरहेको छ।
१७ अर्ब रुपैयाँ खर्च, एडिबीको ८५ प्रतिशत ऋण
नारायणघाट–बुटवल सडक विस्तारको ठेक्का दुई खण्डमा विभाजन गरेर लगाइएको थियो। गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्मको ४८ किलोमिटर पश्चिमी खण्ड गरी निर्माण गरिएको हो।
दुवै खण्डको ठेक्का ग्लोबल टेन्डरमार्फत चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो।
आयोजना निर्माणका लागि करिब १७ अर्ब रुपैयाँ खर्च भएको छ। कुल लागतको ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडिबी)ले १.५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो।
११३ किलोमिटर सडकअन्तर्गत ७० किलोमिटर चार लेन, २९ किलोमिटर छ लेन र दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण गरिएको छ।
ग्रामीण तथा वन क्षेत्रमा चार लेनको सडक निर्माण गरिएको छ भने सहरी क्षेत्रमा दुवैतर्फ अतिरिक्त सर्भिस लेनसहित छ लेन बनाइएको छ। दाउन्नेको भौगोलिक कठिनाइ भएका क्षेत्रमा भने तीन लेनमा सडक विस्तार गरिएको हो।
सडकमा लेन मार्किङ, ट्राफिक सङ्केत, गति सीमा सङ्केत तथा सवारीसाधनको गति निगरानीका लागि स्पिड गन प्रयोग गर्ने व्यवस्था पनि गरिएको छ।
सडकमा अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा
सडक विस्तारपछि सवारीसाधनको गति बढ्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्न विभिन्न क्षेत्रअनुसार गति सीमा निर्धारण गरिएको सूचना अधिकारी खनालले बताए।
उनका अनुसार सिधा तथा खुला सडकमा अधिकतम ८० किलोमिटर प्रतिघण्टा, बजार क्षेत्र तथा क्रसिङमा करिब ६० किलोमिटर प्रतिघण्टा र जङ्गली क्षेत्र तथा दाउन्नेको पहाडी क्षेत्रमा अधिकतम ४० किलोमिटर प्रतिघण्टाको गति सीमा तोकिएको छ।
दाउन्ने क्षेत्रमा पटकपटक कालोपत्र गर्दा पनि सडक बिग्रिने र भासिने समस्या देखिएपछि करिब ११ किलोमिटर सडकमा सिमेन्ट कङ्क्रिट गरिएको छ।
सडक विस्तारका क्रममा गैँडाकोटदेखि बुटवलसम्म ४९ हजार ८३० वटा रुख काटिएका थिए।
२१ ठूला र ४३ साना पुल निर्माण
सडक विस्तारसँगै यस खण्डमा २१ वटा ठूला पुल र ४३ वटा साना पुल निर्माण गरिएका छन्। सडकमा पानी निकासका लागि ४६ वटा कल्भर्टसमेत निर्माण गरिएको छ।
साना पुल तथा कल्भर्ट चार लेनअनुसार निर्माण गरिएका छन् भने ठूला पुलहरू पुराना पुलको दक्षिणतर्फ दुई लेनमा तयार पारिएका छन्।
पुराना पुलको अवस्था, आवश्यकता र प्राविधिक पक्षलाई ध्यानमा राखेर केही पुलको स्तरोन्नति तथा केहीको प्रतिस्थापन गरिएको सूचना अधिकारी खनालले जानकारी दिए।
सडक विस्तार र सौन्दर्यीकरणका बाँकी काम सम्पन्न भएपछि नारायणघाट–बुटवल खण्ड थप व्यवस्थित, सुरक्षित र आकर्षक बन्ने अपेक्षा गरिएको छ।