२०८३ मंसिर १० बुधबार

क्यान्सर र मिर्गौलाका बिरामीका अत्यावश्यक औषधी अभाव, विभागले सार्वजनिक गर्‍यो सम्पर्क नम्बर

ई आर्थिक    मंगलबार, मंसिर ९ २०८३
380
Shares
क्यान्सर र मिर्गौलाका बिरामीका अत्यावश्यक औषधी अभाव, विभागले सार्वजनिक गर्‍यो सम्पर्क नम्बर

काठमाडौं । क्यान्सर तथा मिर्गौलाका बिरामीले नियमित प्रयोग गर्नुपर्ने अत्यावश्यक औषधी बजारमा अभाव हुन थालेपछि औषधी व्यवस्था विभागले औषधी उपलब्ध गराउने कम्पनी र सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको छ।

विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिन समूहका सिस्प्लाटिन र कार्बोप्लाटिन तथा मिर्गौलाका बिरामीको डायलाइसिसमा प्रयोग हुने पेरिटोनियल डायलाइसिस फ्लुइड र कन्टिन्युअस रिनल रिप्लेसमेन्ट थेरापी (सीआरआरटी) का औषधी उपलब्ध गराउने कम्पनीको सम्पर्क विवरण सार्वजनिक गरेको हो।

विभागका महानिर्देशक भरत भट्टराईले बिरामीले आवश्यक औषधी सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सम्बन्धित कम्पनी र सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरिएको बताउनुभयो। उहाँका अनुसार औषधीको आपूर्ति तथा बजारमा उपलब्धताको अवस्थालाई विभागले निरन्तर निगरानी गरिरहेको छ।

विभागले सोमबार जारी गरेको सूचनाअनुसार क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिनका लागि पाँच कम्पनीका सम्पर्क व्यक्ति तोकिएका छन्।

ती औषधीका लागि ताज नेपाल प्रालिका ख्वाजा तारिक राना (९८५१००३४९६), डीकेएम फार्मास्युटिकल्स प्रालिका शरद मानन्धर (९८५११०७७६४) तथा यति फार्माकेम डिस्ट्रीब्युटर्स र यति केम डिस्ट्रीब्युटर्स प्रालिका प्रदीप लामिछाने (९८०१२१६५५४) लाई सम्पर्क गर्न सकिने विभागले जनाएको छ।

त्यस्तै, सिजल फार्मा प्रालिका अञ्जन पुडासैनी (९८०२०१७८५८) र डोमोटेक्स फार्माका योगेश कर्माचार्य (९८२४८९७१२८) मार्फत पनि उक्त औषधी प्राप्त गर्न सकिनेछ।

मिर्गौलाका बिरामीको उपचारमा प्रयोग हुने पेरिटोनियल डायलाइसिस फ्लुइडका लागि केयर मेड इन्टरनेसनलका मधु चित्रकार (९८५१०९५१८३) लाई सम्पर्क गर्न सकिने विभागले जनाएको छ।

त्यसैगरी, कन्टिन्युअस रिनल रिप्लेसमेन्ट थेरापी (सीआरआरटी) का औषधीका लागि पिकन पीटीई लिमिटेड, ललितपुरका निरज जोशी (९८५१०३२७७८) लाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

विभागले सम्बन्धित बिरामी तथा सरोकारवालालाई चिकित्सकको पुर्जीका आधारमा उल्लेखित सम्पर्क व्यक्तिसँग सम्पर्क गरी औषधीको उपलब्धताबारे जानकारी लिन आग्रह गरेको छ।

औषधी आयातकर्तालाई समेत मौज्दात, प्राप्ति र वितरणको अद्यावधिक अभिलेख व्यवस्थित राख्न तथा बजारमा नियमित आपूर्ति सुनिश्चित गर्न विभागले निर्देशन दिएको छ।

जीवनरक्षक औषधीको आपूर्तिमा अवरोध हुँदा क्यान्सर तथा मिर्गौलाका बिरामीको उपचार प्रभावित हुन सक्ने भएकाले सम्बन्धित आयातकर्ता र वितरकलाई जिम्मेवार बनाई औषधीको सहज उपलब्धता सुनिश्चित गर्नुपर्ने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij