२०८३ मंसिर ८ सोमबार

ऊर्जा सहकार्य विस्तारमा मन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच छलफल

ई आर्थिक    बिहिबार, मंसिर ४ २०८३
437
Shares
ऊर्जा सहकार्य विस्तारमा मन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच छलफल

काठमाडौं । ऊर्जा तथा जलस्रोतका क्षेत्रमा नेपाल–भारतबीचको सहकार्यलाई थप विस्तार र प्रभावकारी बनाउने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच छलफल भएको छ।

मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री श्रेष्ठले राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना दिँदै दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका हुन्।

भेटमा भूमिगत जलस्रोतको पुनर्भरणसम्बन्धी अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्ने, अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार गर्ने र निर्माणाधीन परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको थियो।

त्यसैगरी, नेपालबाट भारततर्फ विद्युत् निर्यातको सीमा बढाउन आवश्यक सहजीकरण गर्ने तथा नेपालमा सौर्य ऊर्जाको विकास र विस्तारका लागि भारतीय पक्षसँग सहकार्य गर्ने सम्भावनाबारे पनि विचारविमर्श भएको थियो।

भेटवार्ताकै दिन भारतले नेपाल विद्युत् प्राधिकरणलाई थप ३५० मेगावाट विद्युत् आयात गर्न र ५६ मेगावाट विद्युत् निर्यात गर्न अनुमति दिएको छ। भारतको उक्त निर्णयले आगामी हिउँदयाममा नेपालको विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउनुका साथै अतिरिक्त विद्युत् निर्यातको अवसरसमेत विस्तार गर्ने अपेक्षा गरिएको छ।

दुवै पक्षले ऊर्जा तथा जलस्रोतका क्षेत्रमा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउँदै द्विपक्षीय हितका आयोजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल–भारतबीच ऊर्जा व्यापार विस्तार, प्रसारण पूर्वाधारको क्षमता वृद्धि र जलस्रोतको दिगो उपयोगका क्षेत्रमा सहकार्यलाई थप गति दिने अवसरका रूपमा भेटवार्तालाई हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij