२०८३ कार्तिक १८ मंगलबार

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त किसान

ई आर्थिक    मंगलबार, कार्तिक १८ २०८३
285
Shares
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त किसान

भोजपुर। निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन थालेका हुन् ।

धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा परेको बेमौसमी वर्षाले धान भित्र्याउने काम प्रभावित भएको थियो । अहिले किसान खेतमा धान काट्ने, मुठा बाँध्ने, सुकाउने र घरमा भण्डारण गर्ने काममा जुटेका छन् । कतिपय स्थानमा किसानले एकअर्काको खेतमा अर्मपर्म गरेर धान थन्क्याउन लागेको छन् ।

भोजपुर नगरपालिका–५ का किसान बमबहादुर कार्कीले मौसम खुलेपछि धान भित्र्याउन सहज भएको बताए । ‘केही दिनअघिको वर्षाले धान थन्क्याउने काममा ढिलाइ भयो । अहिले मौसम खुलेपछि राहत मिलेको छ’, उनले भने, ‘अर्मपर्म गरेर भए पनि सबैले आ–आफ्नो खेतको धान थन्क्याउने काम गरिरहेका छौँ । अहिले हाम्रो मुख्य काम नै धान भित्र्याउनुभएको छ ।’

किसान अन्य काम छाडेर धान भण्डारणको काममा लागेको स्थानीय किसान नवराज फुयाँलले बताए । वर्षाका कारण धानबालीमा केही क्षति पुगे पनि बाँकी रहेको उत्पादन जोगाउन किसान लागिपरेको उनको भनाइ छ ।

‘हामी किसान धान भण्डारणको काममा लागेका छौँ’, उनले भने, ‘अहिलेको कामको मुख्य प्राथमिकता नै धान हो । सबैले एकसाथ काम थालेकाले गाउँघरमा खेतला पाउन नै मुस्किल छ ।’

धान भोजपुरका किसानको प्रमुख खाद्यबाली हो । जिल्लाका नौवटै स्थानीय तहमा धानखेती हुँदै आएको छ । मौसममा आएको सुधारले धान भित्र्याउन सहज भए पनि वर्षाका कारण धानबाली केही क्षति पुगेपछि भने किसान चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij