२०८३ कार्तिक १८ मंगलबार

देशभरका अलपत्र ठेक्का तत्काल अन्त्य गर्ने प्रक्रिया अघि बढाइने : मन्त्री लम्साल

ई आर्थिक    मंगलबार, कार्तिक १८ २०८३
323
Shares
देशभरका अलपत्र ठेक्का तत्काल अन्त्य गर्ने प्रक्रिया अघि बढाइने : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेका वर्षौंदेखि अलपत्र तथा रुग्ण ठेक्का तत्काल अन्त्य गर्ने प्रक्रिया अघि बढाइने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण कार्य नगरी ठेक्का ओगटेर बसेका निर्माण व्यवसायीसँगका सम्झौता प्रचलित कानुनअनुसार अन्त्य गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।

मन्त्री लम्सालका अनुसार सोमबार मन्त्रालय मातहतका कार्यालयहरूको ठेक्का प्रगति अवस्थाबारे छलफल गर्दै अलपत्र ठेक्का व्यवस्थापन र पूर्वाधार निर्माणलाई गति दिने विषयमा विभिन्न निर्णय गरिएको हो।

देशभरबाट नागरिकहरूले आफ्नो क्षेत्रमा वर्षौंदेखि अलपत्र अवस्थामा रहेका सडक तथा पुलका ठेक्काबारे विवरण पठाएको उल्लेख गर्दै मन्त्री लम्सालले प्राप्त गुनासोलाई गम्भीरतापूर्वक लिएर आवश्यक निर्णय गरिएको बताएका छन्।

निर्णयअनुसार सडक विभागअन्तर्गत रहेका रुग्ण ठेक्कामा निर्माण व्यवसायीले सम्झौता तथा प्रचलित कानुनअनुसार काम नगरेको अवस्थामा तत्काल ठेक्का अन्त्यको प्रक्रिया अघि बढाइनेछ। साथै सडक विभागले यस्ता ठेक्काको आवधिक अनुगमन गरी अद्यावधिक विवरण तयार गर्नुपर्नेछ।

तोडिएका ठेक्काको पुनः खरिद गर्नुपर्ने अवस्थामा नियमानुसार लागत अनुमान तयार गरी आवश्यक बजेट सुनिश्चित भएपछि तत्काल बोलपत्र आह्वान गर्न सकिने गरी तयारी गरिने मन्त्री लम्सालले बताएका छन्।

त्यसैगरी, सालबसाली रूपमा व्यवस्थापन हुने तथा स्रोत सुनिश्चित भएका ठेक्काहरूको बोलपत्र यथाशीघ्र आह्वान गर्ने प्रक्रिया अघि बढाइने भएको छ।

Design and Build खरिद प्रक्रियाअन्तर्गत निर्माण गरिने पुलका ठेक्कामा निर्माण व्यवसायीले बोलपत्र पेश गर्न नचाहने प्रवृत्तिलाई सम्बोधन गर्न विद्यमान मापदण्ड (Norms) संशोधनको प्रक्रिया पनि अघि बढाइने निर्णय भएको छ।

सरकारले सडक निर्माणको प्रविधिमा समेत परिवर्तन गर्ने तयारी गरेको छ। सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनसम्बन्धी निर्देशिका, २०८३ को व्यवस्थाअनुसार कालोपत्रे सडकको विकल्पमा Rigid Pavement निर्माणलाई प्राथमिकता दिन सडक विभागले डिजाइन परिमार्जनलगायत आवश्यक व्यवस्था मिलाउनेछ।

यसका अतिरिक्त विपद्का कारण क्षति भएका सडक तथा पुलहरूको पुनर्निर्माण प्रक्रिया यथाशीघ्र सुरु गर्न आवश्यक तयारी गर्ने निर्णयसमेत गरिएको छ।

मन्त्री लम्सालले नागरिकका चासो र गुनासोप्रति सरकार सचेत रहेको उल्लेख गर्दै पूर्वाधार विकास तथा सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij