जनकपुरधाम । धनुषा र सिरहालाई जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल आगामी मंसिरको पहिलो सातादेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको छ ।
पूर्वाधार मन्त्री सुनिल लम्सालका अनुसार पुलका बाँकी तीन स्प्यानमध्ये पहिलो स्प्यानको स्ल्याब ढलान कार्य सम्पन्न भइसकेको छ । बाँकी दुई स्प्यानको स्ल्याब कास्टिङ आगामी पाँच दिनभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
त्यसैगरी, नदी नियन्त्रणका लागि पनि निरन्तर काम भइरहेको मन्त्री लम्सालले जानकारी दिएका छन् । निर्माण कार्यलाई तीव्रता दिँदै मंसिरको पहिलो साताभित्र पुल सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ ।
१५ वर्षदेखि अलपत्र अवस्थामा रहेको कमला पुल आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याउनु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री लम्सालले बाँकी निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको बताएका छन् ।
पुल सञ्चालनमा आएपछि धनुषा र सिरहासहित मधेश प्रदेशका विभिन्न जिल्लाबीचको आवागमन सहज हुनुका साथै स्थानीय बासिन्दाले लामो समयदेखि भोग्दै आएको यातायात समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।