२०८३ कार्तिक १६ आइतबार

प्रधानमन्त्री शाहको चुनावी प्रतिबद्धतामा समेत समेटिएको दमक–चिसापानी सडकको निर्माण प्रक्रिया अघि बढ्यो, १ अर्ब २२ करोडमा ठेक्का

ई आर्थिक    शुक्रबार, कार्तिक १४ २०८३
437
Shares
प्रधानमन्त्री शाहको चुनावी प्रतिबद्धतामा समेत समेटिएको दमक–चिसापानी सडकको निर्माण प्रक्रिया अघि बढ्यो, १ अर्ब २२ करोडमा ठेक्का

झापा । प्रधानमन्त्री बालेन्द्र शाहको चुनावी प्रतिबद्धतामा समेत समेटिएको दमक–चिसापानी सडकको निर्माण प्रक्रिया अघि बढेको छ। झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रेका लागि एक अर्ब २२ करोड रुपैयाँभन्दा बढीको ठेक्का प्रक्रिया अघि बढाइएको हो।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय दमकले नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ। सूचनाअनुसार काठमाडौंको महालक्ष्मी–जय धनञ्जय जेभी एक अर्ब २२ करोड ७९ लाख ४४ हजार ८७२ रुपैयाँ ६१ पैसाको कबोल रकमसहित प्रारम्भिक छनोटमा परेको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लामो समयदेखि अलपत्र अवस्थामा रहेको सडकको निर्माण प्रक्रिया पुनः अघि बढ्नुलाई सरकारको प्रतिबद्धता कार्यान्वयनतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिएका छन्।

करिब २५.५ किलोमिटर लामो माङ्सेबुङ–लारुम्बा–चिसापानी सडक खण्ड तीन वर्षभित्र कालोपत्रे गर्ने लक्ष्यसहित २०७६ फागुनमा ठेक्का सम्झौता गरिएको थियो। तर, पटक–पटक ताकेता, पत्राचार तथा सूचना जारी गर्दा पनि निर्माण व्यवसायीले काम अघि नबढाएपछि सरकारले उक्त ठेक्का सम्झौता अन्त्य गरेको थियो।

ठेक्का सम्झौता अन्त्यसँगै कार्यसम्पादन जमानत जफत गर्ने, बाँकी काम सम्पन्न गर्न लाग्ने रकम सरकारी बाँकीसरह असुल गर्ने तथा सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने निर्णयसमेत गरिएको थियो।

सरकारको उक्त निर्णयविरुद्ध निर्माण व्यवसायी अदालत पुगेपछि कानुनी विवादका कारण नयाँ ठेक्का प्रक्रिया अघि बढाउन ढिलाइ भएको थियो। मन्त्री लम्सालका अनुसार कानुनी प्रक्रिया तथा विभिन्न विवाद समाधान गर्नुका साथै स्रोत सहमति, लागत अनुमान र डिजाइन अद्यावधिक गर्ने काम पूरा भएपछि सडकका लागि पुनः ठेक्का आह्वान गरिएको हो।

दमक–चिसापानी सडक लामो समयदेखि स्थानीयवासीका लागि सास्तीको विषय बन्दै आएको छ। विभिन्न राजनीतिक दलका चुनावी एजेन्डामा पटक–पटक समेटिँदै आएको यो सडक कालोपत्रे गर्ने विषय प्रधानमन्त्री बालेन्द्र शाहको झापा–५ सम्बन्धी चुनावी प्रतिबद्धतामा समेत परेको थियो।

नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित भएसँगै लामो समयदेखि अलपत्र सडक निर्माणले गति लिने अपेक्षा गरिएको छ। अब ठेक्का स्वीकृति तथा निर्माणसम्बन्धी बाँकी प्रक्रिया पूरा भएपछि काम अघि बढ्नेछ।

करिब २५.५ किलोमिटर सडक तीन वर्षभित्र कालोपत्रे गर्ने लक्ष्य राखिएको भए पनि निर्माण कार्य औपचारिक रूपमा सुरु हुने मिति भने बाँकी प्रक्रियामा निर्भर रहनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij