काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरूको अवस्थाबारे अध्ययन भइरहेको बताउनुभएको छ।
मन्त्री कुमारीले हाल सात वटा उद्योगको सम्पत्ति मूल्याङ्कनको काम जारी रहेको जानकारी दिँदै त्यसको प्रतिवेदनका आधारमा आगामी निर्णय गरिने बताउनुभयो। उहाँका अनुसार स्थानीय कच्चा पदार्थ र सीपको अधिकतम उपयोग गर्ने उद्देश्यसहित औद्योगिक ग्राम कार्यक्रमलाई निरन्तरता दिइएको छ।
उहाँले उद्योगसम्बन्धी सबै प्रक्रिया पारदर्शी ढंगले अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
मन्त्री कुमारीले मध्यपूर्वमा उत्पन्न असहज परिस्थितिका बाबजुद पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन प्रभावकारी रूपमा मिलाइएको बताउनुभयो। बजार अनुगमनलाई संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा थप प्रभावकारी बनाइएको उहाँको भनाइ छ।
स्वदेशी लगानी प्रवर्द्धनका लागि सरकारले विभिन्न कार्यक्रम तथा योजना आगामी बजेटमा समावेश गरेको उल्लेख गर्दै उहाँले विदेशी लगानी आकर्षित गर्न सञ्चालनमा रहेको एकल विन्दु सेवाकेन्द्रलाई भर्चुअल माध्यमबाट समेत सेवा प्रदान गर्न सक्ने गरी स्तरोन्नति गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।