२०८३ साउन ९ शनिबार

बहुमूल्य पत्थर फेला पारेपछि तान्जानियाका एक व्यक्ति रातारात करोडपति

ई आर्थिक    बिहिबार, असार ११ २०७७
42.4K
Shares
बहुमूल्य पत्थर फेला पारेपछि तान्जानियाका एक व्यक्ति रातारात करोडपति

तान्जानिया  : अहिलेसम्मकै सर्वाधिक ठूलो तान्जानाइट नामक बहुमूल्य रत्न फेला पारेका तान्जानियाका एक सामान्य नागरिक रातारात करोडपति बनेका छन् । कुल १५ किलो तौल भएका दुईवटा पत्थर फेला पारेका सानिनिउ लाइजरले खानी मन्त्रालयबाट ४१ करोड नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेका हुन् ।

“भोलि ठूलो भोज हुन्छ,” लाइजरले बीबीसीलाई भने । तान्जानाइट पत्थर उत्तरी तान्जानियामा मात्रै पाइन्छ र यो गहना बनाउन प्रयोग हुन्छ ।

दुर्लभ

यो पृथ्वीमा पाइने दुर्लभ रत्नहरूमध्ये एक हो। एक स्थानीय भूवैज्ञानिकले यसको आपूर्ति आगामी २० वर्षभित्र समाप्त हुने अनुमान गरेका छन् । यो पत्थरलाई हरियो, रातो, बैजनी र नीलो रङ्गको विविधताका कारण विशेष मानिन्छ ।

यसको मूल्य रङ्गको दुर्लभताको आधारमा निर्धारण गरिन्छ। तर जति राम्रो रङ्ग र सफा छ, मूल्य त्यति नै बढी हुन्छ । लाइजरले गत साता ९.२ र ५.८ किलोग्राम वजनका दुई पत्थर खानीमा फेला पारेका थिए तर उनले बुधवार लाग्ने बजारमा त्यो बेचेका थिए ।

यसअघिसम्म सबैभन्दा ठूलो तान्जानाइटको तौल ३.३ किलोग्राम थियो । राष्ट्रपति जोन मागुफुलीले फोन गरेर लाइजरलाई बधाई दिए ।

तान्जानिया

“यो सानो स्तरमा खानी खोज्नेहरूको फाइदा हो र यसले तान्जानिया कति धनी छ भन्ने प्रमाणित गर्छ,” राष्ट्रपतिले भने । सन् २०१५ मा मागुफुली खानीमा राज्यको हितको रक्षा गर्ने र यसबाट देशको आम्दानी बढाउने नाराका साथ विजयी भएका थिए ।

को हुन् लाइजर

करोडपति बनेका ५२ वर्षीय लाइजर खानीमा रत्न र बहुमूल्य पत्थर खोज्ने काम गर्छन् । उनका चारवटी श्रीमती र ३० सन्तान छन् । उनले आफ्नो समुदायका लागि पनि लगानी गर्ने बताएका छन् ।

“म एउटा किनमेल केन्द्र र एउटा विद्यालय निर्माण गर्न चाहन्छु। म आफ्नो घरनजिकै विद्यालय बनाउन चाहन्छु। यहाँ आफ्ना छोराछोरी विद्यालय पठाउन खर्च गर्न नसक्ने धेरै गरिब मानिसहरू छन् ।”

“म शिक्षित छैन तर मलाई व्यावसायिक रूपमा काम गरेको मन पर्छ। त्यसैले म मेरा बालबच्चाले व्यवसाय गरून् भन्ने चाहन्छु ।” उनले नयाँ धनले आफ्नो जीवन परिवर्तन नहुने बताए र आफ्ना २,००० गाईको हेरचाह गरिरहने बताए। र नयाँ धन प्राप्त गरेका कारण थप सर्तकता पनि अपनाउन नपर्ने बताए ।

“यहाँ यथेष्ट सुरक्षा छ । कुनै समस्या हुँदैन । म राति पनि विनासमस्या हिँड्न सक्छु ।”

खानीको सुरक्षा

लाइजरजस्ता केही व्यक्तिहरू तान्जानाइट खोज्न सरकारको अनुमति लिन्छन् तर धेरैले गैरकानुनी रूपमा ठूला कम्पनीका खानीवरपर उक्त पत्थर खोजी गरिरहेको बताइन्छ ।

सन् २०१७ मा राष्ट्रपति मागुफुलीले २४ किलोमिटर लामो पर्खाल लगाएर तान्जानाइट पाइने संसारको एकमात्र स्थान मेरेलानी घेर्न सेनालाई आदेश दिएका थिए ।त्यसको एक वर्षपछि सरकारले खानीबाट हुने आम्दानीमा वृद्धि भएको थियो जसको कारण त्यही पर्खालको निर्माण मानिने बीबीसीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij