२०८३ मंसिर ११ बिहिबार

अस्ट्रेलियाको १० प्रतिशतभन्दा बढी भूभागमा डढेलो, आगलागीका कारण सडक बन्द

ई आर्थिक    बिहिबार, मंसिर ११ २०८३
133
Shares
अस्ट्रेलियाको १० प्रतिशतभन्दा बढी भूभागमा डढेलो, आगलागीका कारण सडक बन्द

सिड्नी । अस्ट्रेलियाको दक्षिणपूर्वी फ्लिन्डर्स टापुको १० प्रतिशतभन्दा बढी भूभागमा फैलिएको डढेलोले घरहरू नष्ट गर्नुका साथै वन्यजन्तुलाई विस्थापित गरेको छ । आगलागीका कारण सडक बन्द गर्नुपरेको आपत्कालीन सेवाले बिहीबार जनाएको छ ।

तस्मानियाबाट ५० किलोमिटर उत्तरपूर्वमा रहेको टापुको उत्तरी क्षेत्रमा फैलिएको आगो नियन्त्रण गर्न अग्निनियन्त्रकहरू प्रयासरत छन् । बासिन्दाहरू १० मिटर अग्लो आगोबाट जोगिन सुरक्षित स्थानमा आश्रय लिइरहेको तस्मानिया अग्नि सेवाका क्षेत्रीय प्रमुख स्टिभ रिचर्डसनले बताउनुभएको छ ।

प्रतिकूल मौसमका कारण हालैका दिनमा आगोको नजिक पुग्न निकै जोखिमपूर्ण बनेको उहाँले बताउनुभयो । मौसममा सुधार आएपछि अग्निनियन्त्रकहरूले नियन्त्रणका लागि रेखा निर्माण गर्ने काम अघि बढाउने उहाँले जानकारी दिनुभयो ।

आगलागीबाट छवटा संरचना क्षतिग्रस्त वा नष्ट भएका छन् भने आगो निभाउन छवटा हेलिकप्टर परिचालन गरिएको छ । “यो टापुको सबैभन्दा ठूलो आगलागी नहुन सक्छ, तर सबैभन्दा महत्त्वपूर्णमध्ये एक हुनेछ”, उहाँले सञ्चारमाध्यमलाई भन्नुभयो ।

आगलागीबाट वन्यजन्तुहरू पनि विस्थापित भएका छन् । स्थानीय बासिन्दा एलन ह्वेटलीले सडकमा साना पोसमहरू देखिएको बताउँदै यसपटक आगो निकै तीव्र गतिमा फैलिएको उल्लेख गर्नुभयो ।

अर्का स्थानीय बासिन्दा जेमी ब्रोसार्डले आगलागीमा सम्पत्ति गुमाएका मानिसहरूप्रति दुःख व्यक्त गर्दै अवस्था झन् बिग्रँदै गएको बताउनुभयो ।

अस्ट्रेलिया लामो समयदेखि विनाशकारी डढेलोको जोखिममा रहँदै आएको छ । सन् २०१९ को अन्त्यदेखि सन् २०२० को सुरुसम्म फैलिएको ‘ब्ल्याक समर’ डढेलोले लाखौँ हेक्टर वन क्षेत्र नष्ट गर्नुका साथै हजारौँ घर ध्वस्त पारेको थियो ।

वैज्ञानिकहरूका अनुसार मानवीय गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनले ‘ब्ल्याक समर’ जस्ता विनाशकारी आगलागी हुने सम्भावना औद्योगिक युगअघिको तुलनामा दोब्बर बनाएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij