सुर्खेत । पश्चिम सुर्खेतको सडक पूर्वाधार विकासलाई गति दिने उद्देश्यसहित मदन भण्डारी राजमार्गअन्तर्गत लगामदेखि धामिसेनसम्मको १६ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रेका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार उक्त सडक निर्माणका लागि झण्डै डेढ अर्ब रुपैयाँको ठेक्का प्रक्रिया अघि बढाइएको हो।
बड्डीचौर -गुटु–लगाम–कर्णाली सडक खण्डअन्तर्गत पर्ने उक्त सडकको स्तरोन्नतिसँगै पश्चिम सुर्खेतको सडक सञ्जाल विस्तार र आवागमन सहज हुने अपेक्षा गरिएको मन्त्री लम्सालले बताएका छन्।
उनका अनुसार बड्डीचौरदेखि लगामसम्मको सडक खण्डको ठेक्का प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ भने उक्त खण्ड निर्माणको चरणमा रहेको छ।
पश्चिम सुर्खेतको समग्र विकासका लागि सडक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै मन्त्री लम्सालले लगामदेखि धामिसेनसम्मको सडक निर्माणका लागि आवश्यक बजेटको व्यवस्थासमेत गरिएको जानकारी दिएका छन्।
नयाँ ठेक्का प्रक्रियामार्फत सडक स्तरोन्नति अघि बढेसँगै पश्चिम सुर्खेतका बासिन्दाको यातायात पहुँच विस्तार हुने तथा स्थानीय क्षेत्रको आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।