२०८३ साउन ८ शुक्रबार

हस्पिटल र सहकारीमै श्रम शोषण: नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको कडा निर्देशन

ई आर्थिक    बिहिबार, असार २५ २०८३
760
Shares
हस्पिटल र सहकारीमै श्रम शोषण: नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको कडा निर्देशन

काठमाडौँ।  सेवामूलक क्षेत्रका रूपमा रहेका अस्पताल, शैक्षिक संस्था र सहकारीहरूले नै श्रम कानुनको धज्जी उडाउँदै श्रमिकको शोषण गरिरहेको फेला परेको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतका विभाग तथा कार्यालयहरूले गरेको दैनिक श्रम निरीक्षणका क्रममा नाम चलेका हस्पिटल र सहकारीहरूले आफ्ना कर्मचारीलाई न्यूनतम पारिश्रमिक समेत नदिएको र सामाजिक सुरक्षाबाट वञ्चित गराएको भेटिएको छ।

निरीक्षणका क्रममा विराटनगरको श्री गोल्डेन हस्पिटल र जनकपुरको मुस्कान अस्पतालमा कार्यरत सयौँ श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध नगराएको पाइएको छ । मुस्कान अस्पतालमा ३५ जना कर्मचारी कार्यरत रहे पनि उनीहरूले न त नियुक्ति पत्र पाएका छन्, न त उनीहरूको न्यूनतम पारिश्रमिक नै सुनिश्चित छ। सरकारले यी अस्पतालहरूलाई १५ दिनभित्र श्रम ऐन २०७४ र नियमावली २०७५ बमोजिमका सम्पूर्ण व्यवस्थाहरू कार्यान्वयन गरी जानकारी गराउन अल्टिमेटम समेत दिएको छ ।

सहकारी र विद्यालयमा नियुक्ति पत्रको अभाव झापाको चारआली बचत तथा ऋण सहकारी र आशावादी बहुउद्देश्यीय सहकारीले श्रमिकलाई न्यूनतम पारिश्रमिक नदिएको र श्रम अडिट समेत नगरेको पाइएको छ । आशावादी सहकारीलाई ७ दिनभित्र श्रम अडिट पेस गर्न र बैङ्कमार्फत पारिश्रमिक भुक्तानी गर्न निर्देशन दिइएको छ । त्यस्तै, हेटौडाका हार्दिक एकेडेमी र सत्यम् जे भयस इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले नियुक्ति पत्र बिना नै काम गर्नुपरेको र उनीहरूलाई उपदानको व्यवस्था समेत नभएको अनुगमनले औँल्याएको छ ।

निरीक्षणका क्रममा डडेलधुराका रातो गुराँस रिपोर्ट, होटेल राइनो र सनराइज होटेल लगायतका प्रतिष्ठानहरूमा समेत व्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति नभएको र नियुक्ति पत्र वितरण नगरिएको पाइएको छ ।

यससँगै विभाग तथा कार्यालयहरूले श्रम निरीक्षणलाई तीव्रता दिँदै कानुन उल्लङ्घन गर्ने जुनसुकै संस्थालाई पनि नछोड्ने सङ्केत देखाएका छन्। ललितपुरका नेपाल नटक्राफ्ट र किसान दाना उद्योग जस्ता प्रतिष्ठानहरूलाई पनि सुरक्षित कार्य वातावरण सिर्जना गर्न र सामाजिक सुरक्षामा तत्काल आबद्ध हुन कडा निर्देशन दिइएको छ। सरकारी निर्देशन अटेर गर्ने संस्थाहरूलाई श्रम कानुन बमोजिम कडा कारबाही गरिने विभाग तथा कार्यालयहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij