काभ्रेपलाञ्चोक । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१०, राहुलडाँडामा प्रस्तावित फिल्म सिटी निर्माणस्थलको अवलोकन गर्नुभएको छ।
बुधबार दिउँसो मन्त्री तिमिल्सिनाले चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित तथा स्थानीय जनप्रतिनिधिसहित प्रस्तावित फिल्म सिटी निर्माणस्थलको निरीक्षण गर्नुभएको हो।
अवलोकनका क्रममा मन्त्री तिमिल्सिनाले फिल्म सिटी निर्माण परियोजनालाई सरकारले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय सामुदायिक वन उपभोक्ता समिति र बासिन्दाको सहमतिमा आयोजना निर्माण प्रक्रिया अगाडि बढाउन सरकार तयार रहेको उहाँले बताउनुभयो।
फिल्म सिटी निर्माणले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै पर्यटन प्रवर्धन र नयाँ पर्यटकीय गन्तव्य विकासमा योगदान पुर्याउने मन्त्री तिमिल्सिनाको भनाइ थियो। उहाँले आयोजना निर्माणलाई सकेसम्म छिटो अघि बढाउने प्रतिबद्धतासमेत जनाउनुभयो।
यसअघि विभिन्न विवाद तथा अदालतमा मुद्दा परेका कारण आयोजना अघि बढ्न सकेको थिएन। चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले आयोजनासम्बन्धी मुद्दामा बोर्डको पक्षमा अदालतबाट फैसला आइसकेकाले अब निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढाइने बताउनुभयो।
बनेपा नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्काले केही व्यक्तिको अवरोधका कारण विकास निर्माणका काम रोक्न नहुने बताउनुभयो। फिल्म सिटी निर्माण सम्पन्न भए समग्र काभ्रेपलाञ्चोक जिल्लाको विकास, पर्यटन प्रवर्धन तथा स्थानीय आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुग्ने उहाँको विश्वास छ।