काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्वव्यापी डिजिटल भुक्तानी सेवा प्रदायक भिसाबीच बैंकको भिसा कार्ड व्यवसाय विस्तार तथा डिजिटल भुक्तानी सेवालाई थप सुदृढ बनाउने उद्देश्यले रणनीतिक सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकले आफ्नो भिसा कार्ड पोर्टफोलियो विस्तार गर्नुका साथै ग्राहकलाई उपलब्ध गराउँदै आएको कार्ड सेवा र डिजिटल भुक्तानी सुविधालाई थप प्रभावकारी बनाउनेछ। यस सहकार्यले कार्डको प्रयोग बढाउन, भुक्तानी स्वीकार्यताको दायरा विस्तार गर्न तथा नयाँ डिजिटल सेवा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्झौताबारे प्रतिक्रिया दिँदै सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले यस सहकार्यले बैंकको भिसा कार्ड व्यवसायलाई थप सुदृढ बनाउन महत्वपूर्ण आधार तयार गरेको बताए। उनका अनुसार भिसासँगको सहकार्यबाट कार्ड पोर्टफोलियो विस्तार, ग्राहक सुविधामा वृद्धि र कार्डको प्रयोग बढाउँदै डिजिटल भुक्तानी प्रणालीको विकासमा योगदान पुग्नेछ।
त्यस्तै, भिसाका नेपाल, भुटान तथा बंगलादेशका कन्ट्री म्यानेजर सब्बिर अहमदले सिद्धार्थ बैंकसँगको सहकार्यले नेपालभर सुरक्षित, विश्वसनीय र नवीन भुक्तानी सेवाको पहुँच विस्तार गर्ने भिसाको प्रतिबद्धतालाई थप बलियो बनाउने बताए।
सम्झौताअन्तर्गत सिद्धार्थ बैंकले ग्राहकका लागि सुरक्षित, सहज तथा नवीन डिजिटल भुक्तानी समाधान विस्तार गर्ने योजना बनाएको छ। साथै, ग्राहकलाई थप आकर्षक सुविधा तथा विशेष अफरहरू उपलब्ध गराउने बैंकको तयारी छ।
नेपालमा डिजिटल भुक्तानी तथा कार्ड प्रयोगको दायरा विस्तार हुँदै गएको अवस्थामा बैंक र भिसाबीचको यस सहकार्यले कार्ड तथा डिजिटल भुक्तानी क्षेत्रमा सिद्धार्थ बैंकको उपस्थिति थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।