आईजीपीमा पुनर्बहालीको माग तत्काल सम्बोधन भएन, लिखित जवाफ परेको सात दिनभित्र अन्तिम सुनुवाइ गर्न आदेश
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सर्वोच्च अदालतले तत्काल राहत दिन अस्वीकार गरेको छ। आफूलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो।
अदालतले रिटमा उठाइएका कानुनी प्रश्नहरू अन्तिम सुनुवाइका क्रममा निरुपण गर्नुपर्ने प्रकृतिका देखिएको भन्दै तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। तर मुद्दाको विषयवस्तु गम्भीर र संवेदनशील रहेको भन्दै शीघ्र सुनुवाइ गर्न आदेश दिएको छ।
अदालतको आदेशअनुसार विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा जवाफ पेस गर्ने अवधि समाप्त भएको सात दिनभित्रै अन्तिम सुनुवाइका लागि पेसी चढाउनुपर्नेछ। साथै, पेसी हटाउन नपाउने पूर्वसूचनासहित दुवै पक्षलाई जानकारी गराएर मुद्दा पेस गर्न पनि आदेश दिइएको छ।
अदालतले आफ्नो आदेशमा राज्यको शान्ति सुरक्षा तथा प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमान्ड) सँग मुद्दा सम्बन्धित रहेको उल्लेख गरेको छ। विषयको महत्व, गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै छिटो निर्णय हुनु आवश्यक रहेको अदालतको ठहर छ।
कार्कीले आफूलाई कार्यकाल बाँकी रहँदै कानुनी प्रक्रिया पूरा नगरी आईजीपी पदबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले सरकारको निर्णय बदर गरी आफूलाई पूर्ववत् प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्न र नयाँ आईजीपी डा. मनोजकुमार केसीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। उनको स्थानमा एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो।
