काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जना प्रस्तावित न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा २८ वटा उजुरी परेका छन्।
संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले बिहीबारको बैठकमा प्राप्त उजुरीबारे जानकारी गराएका हुन्। उनका अनुसार डा. रत्नबहादुर बागचन्दविरुद्ध पाँच, चन्द्रबहादुर सारुविरुद्ध छ, जनक पाण्डेविरुद्ध १० र गोकर्ण डाँगीविरुद्ध सातवटा उजुरी परेका छन्।
चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध १३ जना उजुरीकर्ताले उजुरी दिएका छन्। तीमध्ये पाँच जनाले सबै चारै जना उम्मेदवारविरुद्ध उजुरी दिएको सभापति श्रेष्ठले जानकारी दिए।
समितिले प्राप्त उजुरीमाथि छलफल गर्न शुक्रबार उजुरीकर्ताहरूलाई बोलाउने निर्णय गरेको छ। उजुरीकर्तासँग उजुरीको पुष्टि र त्यसको औचित्यबारे छलफल गरेपछि प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ अघि बढाइनेछ।
निर्धारित कार्यतालिकाअनुसार शुक्रबार बिहान उजुरीकर्तासँग छलफल गरिनेछ। त्यसपछि डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारुसँग सुनुवाइ हुनेछ। यस्तै, कात्तिक २१ गते शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको सुनुवाइ गर्ने तथा आवश्यक निर्णय लिने समितिको तयारी छ।
संसदीय सुनुवाइका लागि निर्धारित ४५ दिनको समयसीमा नजिकिँदै गएको र दसैँ तथा तिहारको लामो बिदाका कारण प्रक्रिया प्रभावित हुन सक्ने देखिएपछि समितिले चाडपर्वअघि नै सुनुवाइ सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका तय गरेको हो।
संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १५ अनुसार सचिवालयले प्रस्ताव गरेको कार्यतालिकालाई आवश्यक परिमार्जनसहित समितिले पारित गरेको सभापति श्रेष्ठले बताए। समितिको अर्को बैठक शुक्रबार बिहान ९ः३० बजेका लागि बोलाइएको छ।