२०८३ कार्तिक २० बिहिबार

जनकपुर–अयोध्या रेल यात्राको बाटो खुल्दै, १७ बग्गीको रेलबाट प्राविधिक परीक्षण

ई आर्थिक    बिहिबार, कार्तिक २० २०८३
627
Shares
जनकपुर–अयोध्या रेल यात्राको बाटो खुल्दै, १७ बग्गीको रेलबाट प्राविधिक परीक्षण

काठमाडौं । नेपाल र भारतबीच धार्मिक पर्यटनलाई रेलमार्गबाट जोड्ने तयारीले गति लिएको छ। जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सेवा विस्तार गर्ने योजनाअन्तर्गत १७ बग्गीको भारतीय रेलमार्फत परीक्षण गरिएको छ।

प्रस्तावित रेल सेवा सञ्चालनको सम्भावना र प्राविधिक अवस्था मूल्याङ्कन गर्न दुवै देशको पहलमा परीक्षण अघि बढाइएको नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिएका छन्।

उनका अनुसार जनकपुरधामलाई अयोध्यासँग प्रत्यक्ष रेल यात्रामार्फत जोड्ने उद्देश्यसहित आवश्यक प्राविधिक परीक्षण र तयारी भइरहेको छ। यद्यपि, परीक्षणको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छैन। रेल सञ्चालनसँग सम्बन्धित प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्रै सेवा सञ्चालनको थप तयारी अघि बढाइनेछ।

प्रस्तावित योजनाअनुसार नेपालतर्फ जयनगरदेखि जनकपुरधामसम्म नेपाली रेल सञ्चालन हुनेछ। त्यसपछि भारतीय रेलमार्फत यात्रुहरूलाई भारतका दुईदेखि तीनवटा स्टेसनबाट चढाएर अयोध्यासम्म पुर्‍याउने योजना रहेको पराजुलीले बताएका छन्।

धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिने जनकपुरधाम र अयोध्याबीच रेल सम्पर्क स्थापित भएमा दुई देशबीचको धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ।
जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा मानिने धार्मिक विश्वासका कारण यी दुई सहरबीचको रेल सेवा विशेष महत्त्वको हुने देखिएको छ। यसले नेपाल तथा भारतका धार्मिक पर्यटकलाई सहज आवागमनको सुविधा दिनुका साथै पर्यटन र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तर, रेल सेवा कहिलेदेखि नियमित सञ्चालनमा आउने भन्ने विषय भने अझै निश्चित भएको छैन। आवश्यक परीक्षण, प्राविधिक मूल्याङ्कन र अन्य तयारी पूरा भएपछि मात्रै सञ्चालन मिति तय गरिने नेपाल रेल्वेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij