२०८३ कार्तिक १९ बुधबार

काठमाडौंमा खुल्यो एएसयूएसको पहिलो एक्सक्लुसिभ स्टोर, नयाँ गेमिङ ल्यापटप सार्वजनिक

ई आर्थिक    बुधबार, कार्तिक १९ २०८३
684
Shares
काठमाडौंमा खुल्यो एएसयूएसको पहिलो एक्सक्लुसिभ स्टोर, नयाँ गेमिङ ल्यापटप सार्वजनिक

काठमाडौं । ताइवानको प्रविधि कम्पनी एएसयूएसले नेपालमा आफ्नो पहिलो विशेष ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको पुतलीसडकस्थित प्रकाश भवनमा स्टोर उद्घाटन गर्दै नयाँ आरओजी र टीयूएफ गेमिङ सिरिजका ल्यापटपसमेत सार्वजनिक गरेको हो।

नेपालमा आफ्नो खुद्रा उपस्थिति विस्तार गर्ने रणनीतिअन्तर्गत सञ्चालनमा ल्याइएको उक्त स्टोरमा एएसयूएसका विभिन्न सिरिजका ल्यापटप तथा कम्प्युटर हार्डवेयर उपलब्ध हुनेछन्। स्टोरमा भिभोबुक, जेनबुक, प्रोआर्ट, टीयूएफ गेमिङ र रिपब्लिक अफ गेमर्स (आरओजी) सिरिजका उत्पादन ग्राहकले खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकले स्टोरबाट एएसयूएसको ‘फोर ए ग्यारेन्टी’ अन्तर्गतका सुविधा पनि प्राप्त गर्नेछन्। यसमा उत्पादनको सुनिश्चित गुणस्तर, समर्पित ग्राहक सेवा, अन्तर्राष्ट्रिय वारेन्टीसहितको सेवा तथा अतिरिक्त मूल्य अभिवृद्धि गर्ने अनुभव समावेश छन्।

स्टोर उद्घाटनसँगै एएसयूएसले नेपालमा नयाँ गेमिङ ल्यापटपसमेत सार्वजनिक गरेको छ। सार्वजनिक गरिएका उत्पादनमध्ये आरओजी जेफिरस डुओ प्रमुख आकर्षणका रूपमा रहेको छ। इन्टेल कोर अल्ट्रा नाइन ३८६एच प्रोसेसर र एनभिडिया जिफोर्स आरटीएक्स ५०९० ल्यापटप जीपीयू रहेको यो दुईवटा ओएलईडी स्क्रिनयुक्त ल्यापटप गेमिङ तथा सामग्री निर्माणका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ।

त्यस्तै, उच्च प्रदर्शनको गेमिङ अनुभवका लागि इन्टेल कोर अल्ट्रा नाइन २९०एचएक्स प्लस प्रोसेसर र एनभिडिया जिफोर्स आरटीएक्स ५०९० ल्यापटप जीपीयू सहितको आरओजी स्ट्रिक्स स्कार १८ पनि सार्वजनिक गरिएको छ।

यसैगरी, इन्टेल कोर आई सेभेन १४६५०एचएक्स प्रोसेसर र एनभिडिया जिफोर्स आरटीएक्स ५०५० ल्यापटप जीपीयू रहेको टीयूएफ गेमिङ एफ१६ पनि नेपाली बजारमा ल्याइएको छ। यी नयाँ उत्पादनले नेपाली गेमर तथा प्रविधिप्रेमीलाई अत्याधुनिक गेमिङ प्रविधिको अनुभव प्रदान गर्ने कम्पनीको अपेक्षा छ।

एएसयूएस दक्षिण एसियाका क्षेत्रीय प्रमुख एरिक ओउले नेपाललाई कम्पनीका लागि महत्त्वपूर्ण र तीव्र गतिमा विस्तार भइरहेको बजारका रूपमा व्याख्या गरेका छन्।

उनले काठमाडौंमा पहिलो एएसयूएस ब्रान्ड स्टोर सञ्चालनमा आउनु नेपाली उपभोक्तालाई विश्वस्तरीय प्रविधिसँग नजिक पुर्‍याउने यात्राको महत्त्वपूर्ण उपलब्धि भएको बताए। नयाँ स्टोरमार्फत ग्राहकले उत्पादन प्रत्यक्ष अवलोकन तथा प्रयोग गरेर आफ्नो आवश्यकताअनुसार खरिद निर्णय गर्न सक्ने उनको भनाइ छ।

कम्पनीले आगामी दिनमा नेपालभर आफ्नो खुद्रा सञ्जाल विस्तार गर्दै उपभोक्तासँगको सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij