२०८३ कार्तिक १६ आइतबार

बाढीले क्षतिग्रस्त बेनी बजारको पक्की पर्खाल र रिङरोड पुनर्निर्माण हुँदै

ई आर्थिक    शुक्रबार, कार्तिक १४ २०८३
931
Shares
बाढीले क्षतिग्रस्त बेनी बजारको पक्की पर्खाल र रिङरोड पुनर्निर्माण हुँदै

म्याग्दी (बेनी) । कालीगण्डकी नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षण पर्खाल तथा रिङरोड पुनर्निर्माणको तयारी थालिएको छ। बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि प्रारम्भिक रूपमा करिब ५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।

आगामी वर्षायाम सुरु हुनुअघि नै नदी नियन्त्रण तथा बजार संरक्षणका काम सम्पन्न गर्ने लक्ष्यसहित एक महिनाभित्र ठेक्का आह्वान गर्ने तयारी गरिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, म्याग्दीले जनाएको छ।

असोज दोस्रो साता कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका–८ गणेश टोल पछाडि निर्माण गरिएको करिब ८० मिटर लामो पक्की पर्खाल कटान गरी क्षतिग्रस्त बनाएको थियो। त्यस्तै, बेनी नगरपालिका–७ स्थित म्याग्दी जेसीजको कार्यालयअगाडि निर्माण गरिएको करिब १५ मिटर लामो पक्की पर्खालसमेत बाढीको कटानमा परेको थियो।

क्षतिग्रस्त संरचनाको अवस्थाबारे शुक्रबार सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका प्राविधिकसहित जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी र प्रमुख जिल्ला अधिकारी गणेश गैरेलगायतको टोलीले स्थलगत निरीक्षण गरेको थियो।

आयोजनाका इन्जिनियर नरजंग गुरुङका अनुसार बाढीबाट भत्किएको पर्खाल पुनर्निर्माणका लागि तत्काल लगत स्टिमेट तयार गरी आवश्यक बजेट व्यवस्थापन गरिनेछ। त्यसपछि एक महिनाभित्रै ठेक्का आह्वान गर्ने तयारी छ। उनका अनुसार यसपटक कम्पोजिट प्रविधिबाट पर्खाल निर्माण गर्ने योजना बनाइएको छ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बजार संरक्षणका लागि क्षतिग्रस्त पर्खालको पुनर्निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो। उहाँले सदरमुकाम बेनीलाई नदी कटानबाट जोगाउन आयोजनाले शीघ्र लगत स्टिमेट तयार गरी आवश्यक बजेट सुनिश्चित गरेर योजना अघि बढाउन आग्रह गर्नुभयो।

आयोजना प्रमुख प्रेमहरी पराजुलीका अनुसार मनसुनजन्य विपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण यसअघि नै जलस्रोत तथा सिँचाइ विभागमा पठाइसकिएको छ। पछिल्लो समय क्षतिको विवरण थप भएकाले पुनः विवरण संकलन गरी आवश्यक बजेटका लागि विभागमा पठाउने तयारी भइरहेको छ।

उहाँले आगामी वर्षायामअघि नै नदी नियन्त्रणका योजना सम्पन्न गर्ने गरी बेनी बजारलगायत जोखिममा रहेका बस्ती संरक्षणलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताउनुभयो।

यसअघि सोही क्षेत्रमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजनामार्फत कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिएको थियो भने सघन सहरी विकास आयोजनाले रिङरोड निर्माण गरेको थियो। पछिल्लो बाढीले दुवै संरचनामा क्षति पुर्‍याएपछि पुनर्निर्माणको तयारी अघि बढाइएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij