२०८३ कार्तिक १६ आइतबार

युक्रेनमा रुसी ड्रोन आक्रमण : रेल्वे स्टेसनमै १४ यात्रुको मृत्यु, दर्जनौँ घाइते

ई आर्थिक    शुक्रबार, कार्तिक १४ २०८३
361
Shares
युक्रेनमा रुसी ड्रोन आक्रमण : रेल्वे स्टेसनमै १४ यात्रुको मृत्यु, दर्जनौँ घाइते

युक्रेन । मध्य युक्रेनको डिनिप्रो सहरस्थित मुख्य रेल्वे स्टेसनमा बिहीबार बिहान भएको रुसी ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। रेल चढ्न प्रतीक्षारत यात्रुलाई लक्षित गरी भएको आक्रमणमा थप १० जना घाइते भएका छन्।

युक्रेनी अधिकारीका अनुसार बिहीबार देशका विभिन्न क्षेत्रमा भएका रुसी आक्रमणमा कम्तीमा १९ जनाको ज्यान गएको छ। उत्तरी सहर चेर्निहिभमा मृत्यु हुनेमा १५ वर्षका दुई किशोरीसमेत रहेका छन्। पोल्टाभा क्षेत्रमा आवासीय भवनलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

डिनिप्रो रेल्वे स्टेसनमा भएको आक्रमणपछि घटनास्थलमा यात्रुहरूको भागदौड मच्चिएको थियो। सार्वजनिक दृश्यमा रेल्वे प्लेटफर्ममा घाइते तथा मृतकहरू छरिएको देखिएको छ। घाइतेलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ।

अस्पतालका प्रमुखका अनुसार अधिकांश घाइतेलाई ड्रोनबाट प्रहार गरिएका छर्रा लागेको छ। चार जना घाइतेको आकस्मिक शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई सर्वसाधारणमाथिको सुनियोजित हमला भन्दै रुसमाथि थप अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न आह्वान गरेका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि घटनाप्रति दुःख व्यक्त गर्दै रुसमाथि दबाब बढाउनुपर्ने बताएकी छन्।

ओलेश्कीमा अस्थायी युद्धविराम

यसैबीच, दक्षिणी खेरसोन क्षेत्रमा रुसी नियन्त्रणमा रहेको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन मंगलबारदेखि रुस र युक्रेनबीच अस्थायी युद्धविराम लागू भएको छ।

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा भएको भनिएको उक्त युद्धविराम ओलेश्की क्षेत्रका लागि मात्र लागू गरिएको हो। उक्त क्षेत्रमा हजारौँ मानिस विद्युत्, खाद्यान्न तथा स्वच्छ पानीको अभावमा फसेका छन्।

युद्धविराम नोभेम्बर १ को राति १०ः५९ बजेसम्म कायम रहने बताइएको छ।

किएभमा पनि क्षेप्यास्त्र आक्रमण

यसैबीच, बिहीबार राति रुसले युक्रेनको राजधानी किएभमा समेत ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको किएभका मेयरले बताएका छन्। राष्ट्रपति जेलेन्स्कीले यसअघि नै रुसले थप आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका थिए।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का अनुसार जापोरिजिया आणविक ऊर्जा केन्द्रका एक कर्मचारी पनि बिहीबार भएको ड्रोन आक्रमणमा मारिएका छन्।

युक्रेनमा रुसी आक्रमण पछिल्लो समय तीव्र बन्दै जाँदा हवाई प्रतिरक्षाका लागि आवश्यक क्षेप्यास्त्रको अभाव देखिएको छ। युक्रेनले रुसी आक्रमणबाट ठूलो जनधनको क्षति भइरहेको बताउँदै आएको छ।

रुसले भने सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप अस्वीकार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij