प्रगतिशील प्यानलको दबदबा, १७ सदस्यीय कार्यसमितिमा अधिकांश पदमा विजय
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा डिकबहादुर खत्री (कुमार) अध्यक्ष पदमा निर्वाचित भएका छन्। खत्रीले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई पराजित गर्दै प्यानलसहित स्पष्ट जित हासिल गरेका हुन्।
खत्रीलाई नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेकपा निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेस निकट केही व्यवसायीहरूको समर्थन प्राप्त भएको थियो।
निर्वाचनमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका तर्फबाट मेघनाथ भुर्तेल र राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहका तर्फबाट हरिबहादुर पाण्डे क्षेत्री अध्यक्ष पदका प्रत्याशी थिए।
सार्वजनिक मतपरिणामअनुसार खत्रीले ३४७ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका प्रतिस्पर्धी भुर्तेलले १९२ र पाण्डेले १७० मत प्राप्त गरेका थिए।
निर्वाचन समितिका अनुसार प्रथम उपाध्यक्षमा महेश बस्नेत २४१ मतसहित निर्वाचित भएका छन्। यस्तै द्वितीय उपाध्यक्षमा अनिल बोगटीले ३१५, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेलले २५९, महासचिवमा हरि डाँगीले २७३, सचिवमा केदारनाथ अधिकारीले २९४ तथा कोषाध्यक्षमा धनमाया सिन्जालीले ३२३ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्।
१७ सदस्यीय नयाँ कार्यसमितिमा प्रगतिशील प्यानलको स्पष्ट बहुमत देखिएको छ। उक्त प्यानलले सात पदाधिकारीमध्ये छ पदमा तथा १० कार्यसमिति सदस्यमध्ये आठ स्थानमा जित हासिल गरेको छ।
लोकतान्त्रिक एसोसिएसनको प्यानलबाट तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल तथा सदस्यहरू गीता राउत र दीक्षा दाहाल निर्वाचित भएका छन्।
नवनिर्वाचित नेतृत्वले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान, व्यवसायीहरूको हकहित संरक्षण तथा क्षेत्रको सुधारका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।