काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि खुलेको सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। बजेटमा पुँजी बजार सुधारका विभिन्न नीतिगत घोषणा गरिए पनि पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) वृद्धि गरिएपछि लगानीकर्ताको मनोबल कमजोर बनेको देखिएको हो ।
बजेटपछिको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। दीर्घकालीन सुधारका कार्यक्रम समेटिए पनि कर वृद्धिको निर्णयले बजारमा तत्काल नकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ ।
लगानीकर्ता ईश्वरी पौडेलका अनुसार बजारमा आएको गिरावट लगानीकर्ताको मनोवैज्ञानिक प्रतिक्रिया र कर नीतिप्रतिको असन्तुष्टिको परिणाम हो। उहाँले बजेटमा पुँजी बजार सुधारका सकारात्मक व्यवस्था समेटिए पनि पुँजीगत लाभकर वृद्धिले ती सुधारहरूको प्रभाव तत्कालका लागि ओझेलमा पारेको बताउनुभयो ।
यस्तै, ब्रोकर रामचन्द्र भट्टराईले बजेटलाई पुँजी बजारमाथि थप करको भार थोपर्ने कदमका रूपमा व्याख्या गर्नुभएको छ। बलियो राजनीतिक स्थिरतासँगै बजारमैत्री बजेटको अपेक्षा गरेका लगानीकर्ता बजेटपछि पनि अन्योलमा रहेको उहाँको भनाइ छ।
सरकारले बजेटमार्फत धितोपत्र ऐन संशोधन, नेपाल धितोपत्र बोर्ड, नेप्से तथा सिडिएस एन्ड क्लियरिङको पुनर्संरचना, इन्ट्राडे ट्रेडिङ र सर्ट सेलिङको व्यवस्था तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी गर्न दिने लगायतका सुधार कार्यक्रम अघि सारेको छ। तर कर वृद्धिको निर्णयले ती कार्यक्रमको सकारात्मक प्रभावलाई कमजोर बनाएको लगानीकर्ताहरूको धारणा छ ।
नयाँ व्यवस्थाअनुसार एक वर्षभन्दा कम अवधिसम्म सेयर होल्ड गर्ने लगानीकर्ताले १० प्रतिशत र एक वर्षभन्दा बढी अवधि सेयर होल्ड गर्नेले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ। यसअघि उक्त दर क्रमशः ७.५ प्रतिशत र ५ प्रतिशत रहेको थियो ।
विश्लेषकहरूका अनुसार कर वृद्धिको निर्णयले छोटो अवधिमा बजारमा दबाब सिर्जना गरे पनि सरकारले घोषणा गरेका संरचनात्मक सुधार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा दीर्घकालीन रूपमा पुँजी बजारलाई सकारात्मक दिशा दिन सक्ने सम्भावना रहेको छ ।