ई–आर्थिक, काठमाडौं । काठमाडौं नेपालमा मर्चेन्ट बैंकिङ क्षेत्रमा कम्पनीहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै जाँदा प्रतिस्पर्धा तीव्र बनेको छ । हाल देशमा करिब ३२ वटा मर्चेन्ट बैंकिङ कम्पनी सञ्चालनमा रहेका छन्, तर विज्ञहरूका अनुसार बजारको आकार अनुसार १५ वटा कम्पनी पर्याप्त हुने बताउँछन् ।
मर्चेन्ट बैंकिङ कम्पनीहरुले म्युच्युअल फण्ड, पोर्टफोलियो म्यानेजमेन्ट, कर्पोरेट एडभाइजरी, स्पेसलाइज्ड इन्भेष्टमेन्ट फण्ड, डिपोजिटरी पार्टीसिपेन्ट्स, इस्यु म्यानेजमेन्ट, आरटीएस, अण्डरराईटिङ जस्ता सेवाहरु उपलब्ध गराउँदै आएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक, पोर्टफोलियो व्यवस्थापन र म्युचुअल फण्ड सञ्चालनजस्ता मुख्य सेवा प्रदान गर्दै आएका छन् । पछिल्लो समय उनीहरूले सेवा विविधीकरण गर्दै थप वित्तीय सेवाहरू विस्तारको प्रयास गरिरहेका छन् । यद्यपि, समान प्रकृतिका सेवाप्रदायकहरूको अत्यधिक उपस्थितिले बजारमा अस्वस्थ प्रतिस्पर्धाको जोखिम बढाएको व्यवसायीहरूको भनाइ छ ।
नेपालमा सञ्चालित अधिकांश मर्चेन्ट बैंकिङ कम्पनीहरू वाणिज्य बैंकका सहायक (सब्सिडियरी) का रूपमा स्थापित छन् । यसले वित्तीय विश्वसनीयता र पहुँच बढाएको भए पनि सेवा शुल्कमा प्रतिस्पर्धा बढ्दा दीर्घकालीन नाफामा असर पर्ने चिन्ता व्यक्त गरिएको छ ।
प्रविधिको प्रयोगमा भने कम्पनीहरूले उल्लेखनीय प्रगति गरेका छन् । अनलाइन प्लेटफर्ममार्फत आवेदन, भुक्तानी र सेवा प्रवाहलाई सहज बनाइएका छन् । यसले विशेषगरी उपत्यका बाहिरका ग्राहकहरूलाई पहुँच विस्तार गर्न सहयोग पुगेको छ । केही कम्पनीहरूले भौतिक शाखा विस्तारको प्रयास गरे पनि उच्च लागतका कारण धेरैजसो डिजिटल सेवामै निर्भर छन् ।
ग्राहकमैत्री सेवा, पारदर्शिता र गुणस्तर सुधारलाई कम्पनीहरूले प्रतिस्पर्धाको मुख्य आधार बनाएका छन् । तर, बजार सानो र कम्पनी संख्या धेरै हुँदा व्यवसायीहरूले कडा प्रतिस्पर्धाको सामना गरिरहेका छन्।
यसबीच, मर्चेन्ट बैंकिङ कम्पनीहरूले सेयर बजारमा सूचना लिक गरेर चलखेल गरेको आरोप पनि बेला–बेला उठ्ने गरेको छ, जसले यस क्षेत्रको विश्वसनीयतामा प्रश्न उठाएको छ ।
नियामक निकायको भूमिका महत्वपूर्ण
मर्चेन्ट बैंकिङ क्षेत्रको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीमैत्री वातावरण सिर्जना गरेको व्यवसायीहरूको अनुभव छ । बोर्डले ऐन, नियमावली र निर्देशिकामार्फत कार्यक्षेत्र स्पष्ट पारिदिएको भए पनि केही क्षेत्र अझै फराकिलो बनाउनुपर्ने माग उठ्दै आएको छ ।
त्यो त नियामक निकायमा पनि विभिन्न विषयमा विवाद देखिने गरेका छन् । समय र परिस्थितिअनुसार देखिने विवाद र विषयलाई सहमतिमा सरोकारवाला सबैले टुंग्याउँदै आएका छन् । यस्ता विषयहरुलाई उछाल गर्नुभन्दा पनि आवश्यक स्पष्टिकरणको प्रक्रिया मान्नुपर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको धारणा छ ।
नेपालमा मर्चेन्ट बैंकिङ कम्पनीको सम्भावना र भविष्य
विज्ञहरूका अनुसार राजनीतिक स्थिरता र लगानीमैत्री वातावरण कायम भए पूँजी बजारको दायरा अझै विस्तार हुन सक्नेछ । म्युचुअल फण्ड, प्राइभेट इक्विटी जस्ता नयाँ वित्तीय उपकरणमार्फत बजारलाई थप गतिशील बनाउन सकिने अपेक्षा गरिएको छ ।
साथै, स्पष्ट नीतिगत व्यवस्था, कर प्रोत्साहन र सेवा गुणस्तर सुधारमा ध्यान दिइएमा मर्चेन्ट बैंकिङ क्षेत्रले भविष्यमा अझ ठूलो भूमिका खेल्ने देखिन्छ । प्रतिस्पर्धा चर्किए पनि अवसरहरू उत्तिकै रहेको भन्दै सरोकारवालाहरूले सरकार र नियामक निकायको सक्रिय भूमिकामा जोड दिएका छन् ।