२०८३ साउन ११ सोमबार

उद्योगमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन परिसंघले सहजीकरण गर्ने

ई आर्थिक    बुधबार, मंसिर २४ २०८२
2.3K
Shares
उद्योगमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन परिसंघले सहजीकरण गर्ने

काठमाडौं।  नेपाल उद्योग परिसंघले आफ्ना सदस्य उद्योगलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने भएको छ।

उद्योगमा कार्यरत श्रमिकको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यका साथ परिसंघ र सामाजिक सुरक्षा कोषबीच सोसम्बन्धी समझदारी भएको छ।

समझदारीअनुसार परिसंघले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउने र श्रमिकलाई योजनामा आबद्ध गराउन प्रोत्साहन गर्ने भएको छ। परिसंघका महानिर्देशक डा. घनश्याम ओझा तथा कोष कार्यकारी निर्देशक कविराज अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

कोषमा हालसम्म २२ हजार ४५३ रोजगारदाता सूचीकृत भएका छन्। मंगलबारसम्म सामाजिक सुरक्षा योजनामा औपचारिक क्षेत्रका छ लाख ५४ हजार ५४४, वैदेशिक क्षेत्रका २० लाख १७ हजार २८८, अनौपचारिक ८०३, स्वरोजगार क्षेत्रका ६२४ गरी कुल २६ लाख ७३ हजार २५९ श्रमिक समेटिएका छन्।

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योगीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सो साझेदारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ व्यवहारिक र पहुँचयोग्य बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सामाजिक सुरक्षा कोष श्रमिकको जीवन सहज र सुरक्षित बनाउने एक महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै यस समझदारीले सबै क्षेक्रका श्रमिक र रोजगारदाताको सत्रिय सहभागिता अभिवृद्धि गर्न तथा दर्ता प्रणालीमा समाहित हुन सहयोग गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

कोषका कार्यकारी निर्देशक अधिकारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै लैजान र श्रमिकका सुविधालाई विस्तार गर्दै लैजान यो सहकार्य महत्त्वपूर्ण रहेको बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij