९ माघ, काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले सर्वसाधारणका लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ ।
एक सय रुपैयाँ अंकित मूल्यको यो आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतम तीन हजार कित्तासम्मका लागि आवेदन दिनु पर्ने हुन्छ । सुनसरीको दुहबीमा केन्द्रीय कार्यालय रहेको संस्थाले निष्काशित सेयर मध्ये ३० हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ भने ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी पाँच लाख ४० हजार कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन गर्नु पर्ने हुन्छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आइपिओमा छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । ईक्रा नेपाल लिमिटेडले फरवार्ड कम्युनिटीलाई आइपिओ ग्रेड ४ प्लशको प्रमाण पत्र दिइएको छ । यसले माइक्रोफाइनान्सको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझाउँछ ।
लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्साल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको मुख्य कार्यालय सुनसरी, दुबही तथा फरवार्डको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन फारम लिन र बुझाउन सकिने व्यबस्था छ । यसैगरी, एभरेष्ट बैंक लिमिटेडको उपत्यकाको न्यूरोड, नयाँ बानेश्वर, पुल्चोक ललितपुर, भक्तपुरमा फारम भर्न सकिनेछ । उपत्यका बाहिर पोखरा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन, तथा बुटवल शाखा कार्यालयबाट पनि फाराम लिन र बुझाउन सकिनेछ ।
साथै साधारण सेयरका लागि सर्वसाधारण लगानीकर्ताले पहिलो पटक आस्बा प्रणालीबाट आवेदन गर्न पाउने भएका छन् ।